इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छोड्ने भएका छन् । अझै एक वर्ष सम्झौता बाँकी रहेको अवस्थामा पोर्चुगिज स्टार रोनाल्डोले युभेन्टस छोड्न लागेका हुन् ।

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोको यो सिजन खासै उपलब्धिमुलक रहेन । सन् २०१८ मा युभेन्टस आएयता च्याम्पियन्स लिगमा लगातार तीन सिजन निराशाजनक बिताएका रोनाल्डो यसपटक भने घरेलु लिगको उपाधि जित्नसमेत असफल बने ।

व्यक्तिगत रूपमा सिरी ‘ए’ तर्फको गोल्डेनबुट जितेपनि रोनाल्डो उपाधि जित्न नसक्दा निराश रहेको बताइन्छ । उनको सम्झौता जुन २०२२ मा सकिँदै छ । तर, रोनाल्डोले आफ्ना सहकर्मीलाई ड्रेसिङ रुममा क्लब छोड्नेबारे सुनाएका छन् ।

स्पेनिस मिडिया ‘मार्का’का अनुसार ३६ वर्षीय रोनाल्डोले आगामी ट्रान्सफर विन्डोमा क्लब छोड्न चाहेका छन् । यो कुरा उनले ड्रेसिङ रुममा आफ्ना सहकर्मीलाई सुनाए पनि क्लबलाई भने जानकारी गराएका छैनन् ।

रोनाल्डो केही समययता पूर्वक्लबद्वय म्यानचेस्टर युनाइटेड वा स्पोर्टिङ सिपी जानसक्ने चर्चा छ । रियल मड्रिडले भने रोनाल्डोलाई नफर्काउने जनाइसकेको छ । टुरिन आएको तीन वर्षयता रोनाल्डोले युभेन्टसका लागि एक सय एक गोल र २२ असिस्ट गरेका छन् ।