धरान उपमहानगरपालिका–१५ स्थित अस्थायी प्रहरी चौकीमा हतियारसहित प्रवेश गरेको एउटा समूहले बिहीबारसाँझ आतङ्क मच्चाएको छ ।

खुकुरी र तरवार लगायतका हतियारसहित पुगेको समूहको आक्रमणमा परेर चौकीका इन्चार्ज असइ ९प्रहरी सहायक निरीक्षक० सुमन दाहाल, हवल्दार विजय यादव र जवान अरुण राजवंशी घाइते भएका छन् । घाइतेमध्ये दाहालको देव्रे हातमा गहिरो चोट लागेको छ ।

उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आफूहरुलाई ज्यान मार्ने धम्की आएको भन्दै न्याय माग्न दुई युवा प्रहरी चौकीमा आइपुगेका थिए ।

उनीहरुलाई नै खोज्दै आएको हतियारधारी समूहले आन्धाधुन्ध आक्रमण गरेको हो । युवाहरु उजुरी गर्न आएको केही बेरमै मास्क लगाएर आएको समूह प्रहरी चौकीभित्र छिरेर खुकुरी प्रहार गर्न थालेको थियो ।

युवामाथि खुकरीले आक्रमण हुन थालेपछि छुट्याउन गएका असइ दाहालसहितका प्रहरी घाइते भएका हुन् । दुईवटा मोटरसाइकलमा आएको समूहले घटना गराएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी चौकीसमेत तोडफोड गरेर आक्रमणकारी फरार भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । तोडफोडबाट चौकीको झ्यालका सिसाहरु फुटेका छन् ।

प्रहरी चौकीमा चार जना मात्रै प्रहरी थिए । चौकीमा प्रहरी जनशक्ति कम भएको र भएकामध्ये पनि घटनामा परेर तीन जना घाइते हुनपुगेपछि आक्रमणकारी भाग्न सफल भएको बताइएको छ । उनीहरु पक्राउ परिसकेका छैनन् ।

आफूहरुलाई धम्की आएको भन्दै प्रहरी चौकी पुगेका दुई युवामाथि प्रहरीले सोधपुछ गरिरहेको छ । उनीहरुकै बयानका आधारमा आक्रमणकारीको खोजी भइरहेको एसपी श्रेष्ठले बताए ।