धरान । धरानको फुटबल पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएका व्यावसायिक फुटबल खेलाडी मिलन राई सम्मानित भएका छन्।

चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले राईलाई नगद २१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको हो।

धरानको स्थानीय फुटबल मैदानबाट खेल जीवनको सुरुवात गरेका राई नेपाली फुटबलका स्थापित खेलाडीमध्ये एक हुन्। उनले स्थानीय क्लबदेखि ए डिभिजन क्लबहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै नेपाली राष्ट्रिय टोलीसम्म आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। उनको योगदानले धरानको नाम देश तथा विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

फुटबलप्रतिको उनको समर्पण, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनले धरानका सयौं युवा खेलाडीलाई प्रेरणा दिँदै आएको छ। खेल जीवनभर उनले प्रदर्शन गरेको अनुशासन, संघर्ष र सफलताको यात्राले नयाँ पुस्ताका खेलाडीका लागि उदाहरणीय मार्गदर्शन प्रदान गरेको क्लबले जनाएको छ।

सम्मान कार्यक्रममा क्लबका अध्यक्ष अशोककुमार राईले सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गर्दै मिलन राईको खेल जीवनको उच्च मूल्यांकन गरेका थिए। अध्यक्ष राईले धरानको फुटबल विकासमा उनको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उनले नेपाली फुटबल र युवा पुस्तालाई प्रेरित गरिरहने विश्वास व्यक्त गरे।

क्लबका सचिव उमेश जिमीले धरान नेपाली फुटबलको उर्वर भूमि रहेको उल्लेख गर्दै मिलन राईजस्ता खेलाडीहरूले धरानको खेल इतिहासलाई समृद्ध बनाएको बताए। उनले खेलाडीहरूको योगदानको उचित कदर गर्दै आगामी दिनमा पनि धरानका प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मान ग्रहणपछि मिलन राईले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए। उनले आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने खेलप्रेमी, प्रशिक्षक, परिवार तथा धराने फुटबल समुदायप्रति आभार व्यक्त गर्दै युवा खेलाडीलाई मेहनत, अनुशासन र समर्पणका साथ अगाडि बढ्न आग्रह गरे। धरान फुटबलको इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याएका खेलाडीलाई गरिएको यस सम्मानले खेल क्षेत्रका व्यक्तित्वहरूको योगदानको कदर गर्नुका साथै आगामी पुस्तालाई खेलप्रति थप प्रेरित गर्ने विश्वास गरिएको छ।