धरान । प्राइम भिजन इन्टरनेशनल कलेज ले राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला प्रतियोगिता “दोस्रो राष्ट्रिय पाककला चुनौती २०२६” मा प्रभावशाली प्रस्तुति दिँदै धरानको नाम राष्ट्रिय मञ्चमा चम्काएको छ। इन्टरनेशनल नेपालीज सेफ सोसाइटी द्वारा आयोजित उक्त प्रतियोगितामा धरानबाट सहभागी हुने एकमात्र विद्यार्थी टोली प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीहरू रहेका थिए।
प्रतियोगिताका क्रममा कलेजका विद्यार्थीहरूले प्रदर्शन गरेको पाककला कला, सिर्जनात्मकता र व्यावसायिक प्रस्तुतिले अन्तर्राष्ट्रिय निर्णायक मण्डललाई अत्यन्त प्रभावित बनाएको थियो। उनीहरूको प्रस्तुति पश्चात् अन्तर्राष्ट्रिय निर्णायक तथा उपस्थित सेफहरूले उभिएर ताली बजाउँदै सम्मान प्रकट गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षण बनेको थियो कलेजका सेफ कबिन राई र सेफ सबिन थापा मगरद्वारा तयार गरिएको विशेष फल नक्काशी कला। उनीहरूले तरबूजामा विश्वप्रसिद्ध सेलिब्रेटी सेफ गोर्डन राम्से, नेपालका पहिलो कार्यकारी लिजेन्डरी सेफ गोविन्द नरसिंह केसी तथा मास्टर सेफ साई कुमार शर्मा को आकर्षक आकृति कुँदेर प्रस्तुत गरेका थिए।
उक्त कला कार्यक्रमभरि नै सबैको ध्यानको केन्द्र बनेको थियो। विभिन्न देशका सेफ, निर्णायक तथा अतिथिहरूले प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीहरूको सिर्जनशीलता, मेहनत र कलात्मक प्रतिभाको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा सहभागी धेरै सेफहरूले यस्तो स्तरको फल नक्काशी कला नेपालमा दुर्लभ रहेको प्रतिक्रिया दिएका थिए।
कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठ ले विद्यार्थीहरूको सफलताले धरानको शैक्षिक तथा आतिथ्य क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाएको बताए। उनले भने, “हाम्रा विद्यार्थीहरूले देखाएको प्रतिभा, अनुशासन र सिर्जनशीलताले हामी अत्यन्त गौरवान्वित भएका छौं। प्राइम भिजन इन्टरनेशनल कलेजले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक तथा अन्तर्राष्ट्रिय स्तरको सीप विकासमा निरन्तर जोड दिँदै आएको छ। आगामी दिनमा पनि विद्यार्थीहरूलाई विश्वस्तरीय अवसर र मञ्च उपलब्ध गराउने हाम्रो प्रतिबद्धता रहनेछ।”
प्राइम भिजन इन्टरनेशनल कलेजले फेरि एकपटक आतिथ्य तथा पाककलाको क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धरानको गौरव बढाएको छ।


