सुनसरी,  — भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरेर अवैध लागूऔषध ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १४८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बिहार राज्यको सुपोल जिल्ला, बिरपुर बस्ने १८ वर्षीय धर्मेन्द्र कुमार यादव र सोही स्थानका २१ वर्षीय मोहम्मद सदाम रहेका छन्।
बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडावाट  इलाका प्रहरी कार्यालय चतरा बाट खटिएको गस्ती टोलीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको BR 07 PC 4765 नम्बरको एम्बुलेन्सलाई शंकास्पद अवस्थामा रोकेको थियो। प्रहरी टोलीलाई देख्नासाथ भाग्न खोजेपछि उक्त एम्बुलेन्सलाई पछ्याएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा एम्बुलेन्सभित्र प्लास्टिकको बोरामा राखिएको अवस्थामा १४८ किलोग्राम गाँजा   फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिए ।

उनीहरूलाई लागूऔषध र एम्बुलेन्ससहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।