धरान,   — खेलकुद गतिविधिका लागि परिचित धरानमा पुनः ठूलो स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वैशाख १८, १९ र २० गते दोस्रो धरान खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको हो।

आयोजक धरान ब्याडमिन्टन क्लबले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको छ। प्रतियोगिता अमर सेवा समाजको कभर्ड हलमा सञ्चालन गरिनेछ।

प्रतियोगितामा खुल्ला पुरुष तथा महिला सिंगल, पुरुष सिंगल, महिला डबल्स, मिक्स डबल्स तथा भेट्रान (उमेर समूह) गरी विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ। देशभरका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय गरी करिब ४५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ।

स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले वैशाख १४ र १५ गते विशेष प्रतिस्पर्धा समेत आयोजना गरिने आयोजकले जनाएको छ। पुरस्कारतर्फ मेन्स डबल्स विजेताले १ लाख २१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। तेस्रो स्थान हासिल गर्नेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, ओमेन्स डबल्स तथा मिक्स डबल्सतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। भेट्रान सय प्लस डबल्सतर्फ पनि सोही अनुपातमा पुरस्कार वितरण गरिनेछ। सबै विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि करिब २३ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। खर्च व्यवस्थापनका लागि धरान उपमहानगरपालिका, विभिन्न वडा, संघ–संस्था तथा व्यवसायिक क्षेत्रबाट सहयोग जुटाइनेछ।

आर्थिक संयोजक खगेन्द्र मेन्याङ्वोका अनुसार प्रतियोगिताले धरानमा ब्याडमिन्टन खेलको विकास, खेलाडीबीच प्रतिस्पर्धात्मक भावना अभिवृद्धि र नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यस्ता प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनसँगै स्थानीय व्यवसायिक क्षेत्रको विकासमा समेत टेवा पुग्ने उनको भनाइ रहेको छ।