धरान, — युएन नवोदय कलेज को १६औं वार्षिकोत्सव, विदाइ तथा सम्मान कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ। चुम्लुङहीम मा आयोजित कार्यक्रममा विभिन्न सङ्कायका उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिनुका साथै १३ जना विद्यार्थीलाई निःशुल्क ल्यापटप वितरण गरिएको छ।
कार्यक्रममा बिएचएम दोस्रो सेमेस्टरतर्फ ३.८२ जीपीए ल्याई ‘धरान टपर’ बनेका आयुष लिम्बूलाई १० हजार रुपैयाँ, ३.७७ जीपीएका साथ ‘प्रदेश सेकेण्ड टपर’ प्राप्ति लिम्बू र ‘धरान सेकेण्ड टपर’ आलसन राईलाई ७/७ हजार रुपैयाँ तथा ‘धरान थर्ड टपर’ अन्जन लिम्बूलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।
त्यस्तै, बिएचएम चौथो सेमेस्टरतर्फ ३.८९ जीपीए ल्याई धरान प्रथम भएकी स्मारिका श्रेष्ठलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो भने ३.८८ जीपीएका साथ द्वितीय भएकी सिमरन तामाङ र ३.८४ जीपीए ल्याई तृतीय भएकी जेसिका राईलाई जनही ३/३ हजार रुपैयाँसहित सम्मान गरिएको कलेजले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि अइन्द्रविक्रम बेघा ले कलेजले व्यवहारमै गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावकको मन जित्न सफल भएको बताए। उनले यस्ता शैक्षिक गतिविधिले धरानलाई शैक्षिक हबका रूपमा विकास गर्न टेवा पुग्ने धारणा राखे।
यसैबीच, कलेजले “एक विद्यार्थी–एक ल्यापटप” कार्यक्रमअन्तर्गत बिएचएम प्रथम सेमेस्टरमा अध्ययनरत १३ जना विद्यार्थीलाई निःशुल्क ल्यापटप वितरण गरेको जनाएको छ। कलेजका पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूका अनुसार अब युएन–नवोदयमै +2 अध्ययन गरी बिएचएममा भर्ना हुने विद्यार्थीहरूले निःशुल्क ब्रान्डेड ल्यापटप पाउने व्यवस्था गरिएको छ।
क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले अहिलेको समय सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र अनुसन्धानमुखी शिक्षाको भएकाले ल्यापटप वितरणले विद्यार्थीको अध्ययनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले केही कलेजहरूले कक्षा–१२ मा १०० प्रतिशत नतिजा गराउने भनी गलत प्रचार गरिरहेको उल्लेख गर्दै कक्षा–१२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्ड ले सञ्चालन गर्ने भएकाले यस्ता दाबी वास्तविक नभएको स्पष्ट पारे।
कार्यक्रममा ‘बेस्ट स्टुडेन्ट अफ द इयर’ अन्तर्गत विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट सङ्कायका उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। साथै कक्षा–१२, बिएचएम र बिबिएस पूरा गरेका विद्यार्थीलाई मायाको चिनो, अविर र खादा लगाएर बिदाइ गरिएको थियो।
कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झा, प्रिन्सिपल डम्बरकुमार तुम्बापो, कोअर्डिनेटर गगनमान श्रेष्ठलगायतले विद्यार्थीहरूलाई सम्मान तथा बिदाइ गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायनलगायतका प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए।


