काठमाडौं । हर्क साम्पाङ, श्रम, संस्कृति पार्टीका अध्यक्षले आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरो मा औपचारिक उजुरी दर्ता गराएका छन्।

साम्पाङले सोमबार दर्ता गराएको उजुरीमा ‘सुनिता खड्का’ नाम उल्लेख गर्दै उक्त व्यक्तिले सामाजिक सञ्जाल टिकटक मार्फत आफूलाई ज्यान मार्ने तथा घरमा आगजनी गर्ने धम्की दिएको आरोप लगाएका छन्। उजुरीमा खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकका रूपमा उल्लेख गरिएको छ।
उजुरीमा साम्पाङले सार्वजनिक माध्यमबाट आफूविरुद्ध अत्यन्त आपत्तिजनक र पाशविक शैलीमा गालीगलौज गरिएको उल्लेख गर्दै घटनाप्रति साइबर ब्युरोको ध्यानाकर्षण गराएका छन्। साथै, उनले आरोपित व्यक्तिलाई तत्काल पक्राउ गरी प्रचलित कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यस विषयमा सम्बन्धित निकायले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ।


