धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कर्मचारी कल्याण समाजको आगामी चैत्र २१ गते हुने निर्वाचनका लागि २४ पदमा कुल ३९ जनाले उम्मेदवारी दिएका छन्।

समाजको तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा मेडिकल स्टोर प्रमुख सञ्जिवकुमार कर्ण र प्याथोलोजी विभागमा कार्यरत सिनियर टेक्निकल असिस्टेन्ट अमिरमान राईबीच प्रतिस्पर्धा हुने भएको छ।

एक जना वरिष्ठ उपाध्यक्ष पदका लागि रमेश कुमार खतिवडा, हेम बहादुर बस्नेत, श्याम सुन्दर मेहता र पूर्ण बहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। वरिष्ठ उपाध्यक्ष (महिला) तर्फ भने निशा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ।

उपाध्यक्ष (प्रशासनिक कर्मचारी) पदका लागि नन्द किशोर मण्डल, केदार बहादुर सिजाली मगर, पंचमाया ताम्ली र युवराज बजगाईंले उम्मेदवारी दिएका छन्। उपाध्यक्ष (नर्सिङ कर्मचारी) तर्फ निर्मला बास्तोलाको मात्र उम्मेदवारी परेको छ।उपाध्यक्ष (पारामेडिक्स) तर्फ प्रेम कुमार श्रेष्ठ, उदय शंकर सिंह र कुशेश्वर दास प्रतिस्पर्धामा छन्।

महासचिव पदका लागि संगीता कुमारी चौधरी, युनिषा सुबेदी र घनश्याम यादवले उम्मेदवारी दिएका छन् भने सचिव पदमा ध्रुवराज नेपाल र नीतु चौधरी प्रतिस्पर्धामा छन्। कोषाध्यक्ष पदका लागि रमा बस्नेत र अजयकुमार साहले उम्मेदवारी दर्ता गरेका छन्।

सदस्य (प्रशासनिक) तर्फ ३ पदका लागि मालती देवी उराँव, अमोद चन्द्र झा, भूपध्वज बुढाथोकी र पेशल कुमार वाग्ले उम्मेदवार छन्। सदस्य (नर्सिङ) तर्फ ३ पदका लागि मनहिरा कार्की, मैया श्रेष्ठ र रिजु चौहानको मात्र उम्मेदवारी परेको छ।

सदस्य (पारामेडिक्स) तर्फ ३ पदका लागि तुलानन्द चौधरी, सुनिता राई, सुलेन्द्र कुमार यादव र रोहितानन्द झाले उम्मेदवारी दिएका छन्। खुल्ला सदस्य ६ पदका लागि रोशन बर्देवा, अनन्त राम माझी, आराधना कुमारी शाह, तिजा राई, सेखा कुमारी सरदार र जीवन मगर उम्मेदवार बनेका छन्। चैत्र ११ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ भने अन्तिम नामावली चैत्र १२ गते सार्वजनिक गरिने निर्वाचन समितिका अध्यक्ष विनोद कुमार यादवले जानकारी दिएका छन्। उक्त निर्वाचनमा प्रतिष्ठानमा कार्यरत नर्स, पारामेडिक्स तथा प्रशासनिक कर्मचारी गरी १,५५४ जनाले मतदान गर्नेछन्।