धरान। धरान–१८ स्थित गल्फ कोर्षमा शनिबार सम्पन्न ग्यालेक्सी काठमाण्डौं एमेच्योर खुल्ला गल्फ प्रतियोगिता २०२६ मा पदमहाङ लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै ग्रस उपाधि हात पारेका छन्।

३ अण्डर ६७ स्कोरसहित उनले प्रतियोगिताको ग्रसतर्फको उपाधि जितेका हुन्। वान ह्याण्डीक्याप खेलाडी रहेका लिम्बूले सुरुदेखि नै स्थिर खेल प्रस्तुत गर्दै प्रतिस्पर्धीहरुलाई पछि पारे।

IMG-20260314-WA0010

नेटतर्फ भने १३ ह्याण्डीक्याप खेलाडी खेम राई चम्किए। उनले ५ अण्डर ६५ स्कोर गर्दै नेट विजेता बने। कुल ८ ओभर ७८ स्कोर गरेका राईले प्रतिस्पर्धामा प्रभावशाली खेल देखाए। सिद्धान्त सापकोटा नेट फस्ट रनरअप तथा गणेश जिमी सेकेन्ड रनरअप बने।

अन्य विधातर्फ भेट्रानतर्फ वमप्रसाद लिम्बू विजेता बने भने जुनियरतर्फ सुरज परियारले उपाधि जित्दा दिपेश श्रेष्ठ उपविजेतामा सीमित भए।

प्रतियोगितामा नियरेष्ट टु दि पिन (१७ होल) तर्फ सुमन भुजेल, लङ्गेष्ट ड्राइभ (१८ होल) तर्फ भीम दाहाल तथा मोस्ट बर्डिज (४ वटा) तर्फ श्याम लिम्बूले पुरस्कार जिते।

IMG-20260314-WA0008

प्रतियोगिताका विजेता खेलाडीहरुलाई धरान गल्फ संघका अध्यक्ष हरिबहादुर राई, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेस प्याकुरेल, जिल्ला गल्फ संघका अध्यक्ष जितेन्द्र राई तथा नेपाल प्रहरीका एसएसपी भीम दाहालले पुरस्कार प्रदान गरेका थिए।

ग्यालेक्सी काठमाण्डौंको प्रायोजनमा धरान गल्फ क्लबले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा दुई भारतीय खेलाडीसहित ६४ जना एमेच्योर गल्फरहरुको सहभागिता रहेको आयोजकले जनाएको छ।IMG-20260314-WA0009

प्रतियोगिताका ग्रस र नेट विजेताले करिब ३० हजार ५ सय रुपैयाँ बराबरको गल्फ ब्याग र पञ्जा प्राप्त गरे। अन्य विजेताहरुलाई पनि गल्फ खेलसँग सम्बन्धित विभिन्न सामग्री प्रदान गरिएको थियो। प्रतियोगिताका लागि प्रायोजकले २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ।