धरान — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन गरिएको छ। नर्सिङ शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक तथा गुणस्तरीय बनाउने उद्देश्यसहित स्थापना गरिएको उक्त ल्याबको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन्।
नयाँ स्थापना गरिएको स्किल्स ल्याबमा बिरामी हेरचाहसँग सम्बन्धित विभिन्न प्रायोगिक सामग्री राखिएको तथा ल्याबमा मानिसको अस्थिपञ्जर प्रणालीको मोडेल, म्यानिकिन, आधुनिक उपकरण तथा विभिन्न सिमुलेसन सामग्री समावेश गरिएको छ। यी सामग्रीको प्रयोगबाट विद्यार्थीहरूले बिरामीलाई नर्सिङ सेवा प्रदान गर्दा आवश्यक पर्ने सीपहरू सुरक्षित वातावरणमा अभ्यास गर्न सक्ने प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ जाकारी दिए । ल्यावकाे उद्घाटन गर्दै उपकुलपति प्रा.डा. श्रेष्ठले स्किल्स ल्याबको प्रभावकारी उपयोगमार्फत नर्सिङ विद्यार्थीहरूको सीप विकास, अनुसन्धान प्रवर्द्धन तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा मेडिकल सर्जिकल नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ, मेटर्नल हेल्थ नर्सिङ र साइकियाट्रिक नर्सिङका शिक्षकहरूले आ–आफ्नो विभागअन्तर्गतका सामग्रीबारे संक्षिप्त जानकारी गराएकाे थियाे ।
कार्यक्रममा कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरीले प्रस्तुतीमार्फत स्किल्स ल्याबको जानकारी दिँदै नर्सिङ शिक्षामा प्रायोगिक सीपको महत्व अत्यन्त महत्वपूर्ण रहेको बताए। उनका अनुसार स्किल्स ल्याबमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीसँग प्रत्यक्ष काम गर्नुअघि सुरक्षित वातावरणमा विभिन्न नर्सिङ प्रक्रिया तथा उपचार विधिहरू अभ्यास गर्ने अवसर पाउनेछन्।
उनले यस्ता सिमुलेसनमा आधारित अभ्यासले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै बिरामीको सुरक्षालाई पनि थप सुनिश्चित गर्ने विश्वास व्यक्त गर्दै स्किल्स ल्याबमा अभ्यास गरेपछि विद्यार्थीहरूले आधारभूतदेखि उन्नत स्तरसम्मका नर्सिङ सीप आर्जन गर्न सक्ने बताए । कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अन्जु प्रधान, कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


