धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारी सुकुम्बासी टोलबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

मंगलबार बेलुका करिब ७ बजे  प्रहरी चौकी पानबारीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय युवराज लिम्बु, २० वर्षीय उत्सव विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रुपेश राई रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल २४० क्याप्सुल र डिकोलिक २३५ ट्याब्लेट बरामद गरिएको छ।

पक्राउ परेका चारै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक भिषणबाबु राईले  जानकारी दिए ।