धरान । धरान–८ स्थित लाङ्घाली सामुदायिक वन समूहको कार्यालय अगाडि रहेको सुकेको सालको रुख हटाउने कार्यका लागि बुधबार धरानभर एक घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ।
हावाहुरीको मौसम नजिकिँदै जाँदा उक्त रुख जुनसुकै बेला ढल्न सक्ने जोखिम रहेको र त्यसले मानविय तथा विद्युतीय दुर्घटना निम्त्याउन सक्ने सम्भावना रहेको जनाइएको छ। साथै हावाहुरीका कारण रुख ढलेमा लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुन सक्ने भएकाले रुख काटी हटाउने निर्णय गरिएको हो।
यसका लागि भोलि मिति २०८१ फागुन २७ गते बुधबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म ३३ केभी धरान फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरण, धरान वितरण केन्द्रले जनाएको छ।


