धरान । धरान उपमहानगरपालिका–९ अन्तर्गतका विभिन्न सडक तथा बस्ती क्षेत्रमा १०० वाट क्षमताका ३२ वटा स्ट्रीट लाइट जडान गरिएको छ।
कार्यपालिका सदस्य विकास भाटीको पहलमा नगरपालिकाको कोषबाट कुल रु. २ लाख बजेट विनियोजन गरी बगैचा लाइन, सिद्धि विनायक पथ, रोहिणी मार्ग, देवकोटा पथ लुप बाटो र शिव प्रकाश पथका पोलहरूमा स्ट्रीट लाइट जडान गरिएको हो।
यसअघि ती स्थानका धेरै पोलहरूमा घरायसी बल्ब जडान गरेर उज्यालो बनाउने प्रयास गरिएको भए पनि पर्याप्त प्रकाश नहुँदा स्थानीयवासीलाई रातिको समयमा आवतजावत गर्न कठिनाइ हुने गरेको थियो। अब भने व्यवस्थित रूपमा स्ट्रीट लाइट जडान भएपछि सडक तथा बस्ती क्षेत्र उज्यालो बनेको छ।
स्थानीयवासीका अनुसार स्ट्रीट लाइट जडान भएसँगै रातिको समयमा हिँडडुल गर्न सहज हुनुका साथै सुरक्षाको दृष्टिले पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। नगरपालिकाको सम्बन्धित प्राविधिक शाखाको सहयोगमा उक्त कार्य सम्पन्न गरिएको कार्यपालिका सदस्य विकास भाटीले जनाएका छन् ।


