धरान । आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) सुनसरी–१ ले चुनाव प्रचारको अन्तिम दिन सोमबार वृहत मोटरसाइकल र्‍याली निकालेको छ। सूर्य ध्वजावाहक उम्मेदवार टिकाराम लिम्बूको पक्षमा माहौल सिर्जना गर्ने उद्देश्यले आयोजित र्‍यालीमा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

IMG_20260302_193436

निर्वाचन परिचालन कमिटीकी संयोजक मञ्जु भण्डारीको अगुवाइमा सुनसरी–१ का २७ वटै वडामा र्‍याली सञ्चालन गरिएको जनाइएको छ। बराहक्षेत्र र रामधुनी नगरपालिकामा समेत छुट्टाछुट्टै र्‍याली निकालिएको थियो। स्थानीयवासीले विभिन्न स्थानमा र्‍यालीलाई उत्साहका साथ स्वागत गरेका थिए।

IMG-20260302-WA0009
मोटरसाइकल र्‍याली व्यवस्थापन समितिका संयोजक भीमज्वाला राईका अनुसार धरानको र्‍याली नयाँ बसपार्क (धरान–८) बाट सुरु भई लांघाली चोक, शहिद मार्ग, महादेव चोक, स्कुलडाँडा, माथिल्लो पानबारी, तल्लो देउराली, बीच देउराली हुँदै बगरकोट, सदन स्कुल, बुढासुब्बा चोक, देवकोटा चोक, बरगाछी, धनकुटे रोड, बुद्धचोक, क्याम्प गेट, रेल्वे चोक, कल्याणचोक, रंगशाला, जिरोपोइन्ट, फुस्रे, सूर्य मार्ग, अमरहाट, कृषि बजार, पुरानो बजार हुँदै माछा भौडीमा पुगेर समापन गरिएको थियो।

र्‍यालीमा भएको उत्साहपूर्ण सहभागिताले उम्मेदवार लिम्बूको पक्षमा सकारात्मक माहौल बनेको निर्वाचन परिचालन कमिटीकी संयोजक भण्डारीले बताइन्। उनले सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आफ्नो मत सुरक्षित गर्न तथा निर्वाचन आचारसंहिता पालना गर्दै सजग रहन सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रह गरेकी छन्।

र्‍यालीको समापन‌ प्रचार संयोजकसमेत रहेका भीमज्वाला राईले गरेका थिए।