धरान । सुनसरी क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा दलहरूले आफ्नो शक्ति प्रदर्शनलाई तीव्र बनाइरहेका छन्। यसैबीच नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज) ले धरानको केन्द्र भानुचौकमा आयोजित विशाल आमसभामार्फत आफ्नो चुनावी एजेन्डा र विकासको विस्तृत खाका सार्वजनिक गर्नुभएको छ।
आमसभालाई सम्बोधन गर्दै भट्टराईले विगतमा बाहिरी जिल्लाबाट आएका उम्मेदवारले चुनाव जितेपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्तिको आलोचना गर्नुभयो। २०४८ सालदेखि मनमोहन अधिकारीदेखि अशोक राईसम्म बाहिरका उम्मेदवारलाई जिताउँदा पनि जनताले अपेक्षित साथ र निरन्तरता नपाएको उल्लेख गर्दै उहाँले आफू यहीँ जन्मेको, हुर्केको र स्थानीय भूगोल बुझेको उम्मेदवार भएकाले सधैं जनतासँगै रहने प्रतिबद्धता जनाउनुभयो।
उहाँले सहकारी पीडितहरूको मुद्दालाई प्रमुख एजेन्डा बनाउँदै डुबेको रकम फिर्ता गराउन संसदमा सशक्त आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। त्यस्तै, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै धरान–४, १३ र २० का क्षेत्रमा लालपुर्जा वितरण र जग्गा सट्टाभर्नाको विषय कानुनसम्मत ढंगले टुंग्याउने योजना अघि सार्नुभयो।
फोहोरमैला व्यवस्थापनका लागि वैज्ञानिक डम्पिङ साइट निर्माण गरी धरानलाई स्वच्छ र आधुनिक सहर बनाउने तथा धरान, बराहक्षेत्रका पाँच वडा र रामधुनीका दुई वडालाई जोड्ने सडक सञ्जाल विस्तार गर्ने योजना पनि उहाँले प्रस्तुत गर्नुभयो। क्षेत्र नं. १ को जुनसुकै स्थानबाट ३० मिनेटभित्र आवतजावत गर्न सकिने पूर्वाधार विकास गर्ने दाबी समेत उहाँको थियो।
विरोधी पक्षले निजी जीवनमाथि आक्रमण गरेको संकेत गर्दै उहाँले यस्ता गतिविधिले आफूलाई विचलित नगर्ने स्पष्ट पार्नुभयो। आमसभाअघि विभिन्न टोलबाट निस्किएका ¥यालीहरूले नगर परिक्रमा गरेका थिए भने सांस्कृतिक झाँकी, बाजागाजा र उल्लेख्य जनसहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो। कार्यक्रममा पार्टीका स्थानीयदेखि केन्द्रीय तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


