सुनसरी – नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य बहादुर भट्टराई (मनोज) ले आफ्नो चुनावी अभियानको केन्द्रमै युवालाई राखेका छन्।
युवालाई सम्बोधन गर्दै पठाइएको पत्रमा उनले लेखेका छन्,
“हेलो युवा साथी, नमस्कार। म मनोज भट्टराई, तारा चुनाव चिन्ह बोकेर उम्मेदवारका रूपमा प्रस्तुत भएको छु। ‘भूगोल र मन जोड्ने’ मेरो संकल्प तपाईं जस्ता सचेत युवाको सल्लाह र सुझावले मात्र पूर्ण हुनेछ। व्यक्ति आफैंमा पूर्ण हुँदैन।”
भट्टराईले आर्थिक विकासलाई प्राथमिकतामा राख्दै आफ्नै देशमा स्वरोजगारी सिर्जना, विदेशी लगानी भित्र्याउन नीतिगत सुधार, स्वदेशी लगानी प्रवर्द्धन तथा युवालाई उद्यमशीलतामा जोड्ने विषयमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार अहिलेको जेन्जि (नव युवा) पुस्ताको अपेक्षा र उम्मेदवारसँगको चाहना बुझ्न सुझाव संकलन अभियान सञ्चालन गरिएको हो। पत्रसँगै QR कोड समावेश गरी युवालाई प्रत्यक्ष रूपमा सुझाव पठाउन आह्वान गरिएको छ।
पार्टी निकट अखिल क्रान्तिकारी सुनसरी जिल्ला इन्चार्ज रविन श्रेष्ठले भने, “जेन्जि आन्दोलन पक्षधर युवाको सोचलाई आत्मसात गर्दै नजिकबाट बुझ्ने उम्मेदवार मनोज भट्टराई हुनुहुन्छ। युवाको अपेक्षा समेटेर अघि बढ्ने उहाँको प्रयास सकारात्मक र समयानुकूल छ।”


