धरान । फङ्क फ्युजन डान्स एकेडेमीको आयोजनामा भएको ‘धरान स्कूल डान्सिङ स्टार सिजन–३’ को ग्राण्ड फिनालेमा सेन्ट जोसेफ स्कुलकी चासुम राईले उपाधि जितेकी छन्। धरान–१५ स्थित चुम्लुङ हिम भवनमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो।

उपाधिसँगै चासुम राईले रु. २० हजार नगद, ट्रफी र मेडल प्राप्त गरिन्। प्रतियोगितामा कार्मेल स्कुलकी साराङ्ग राई दोस्रो स्थानमा रहँदै रु. १५ हजारसहित ट्रफी र मेडल हात पार्न सफल भइन्। त्यसैगरी भिक्टोरी स्कुलकी टिका मगर तेस्रो स्थान हासिल गर्दै नगद १० हजार प्राप्त गरिन भने होलिल्याण्ड स्कुलकी म्युजिका मगर चौथो र यू.एन. स्कुलकी मरियम गुरुङ पाँचौँ स्थानमा रहिन्।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम बेघाले विद्यालयस्तरमा यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने बताउँदै कला र संस्कृतिको प्रवर्द्धनमा स्थानीय तह सधैँ सकारात्मक रहने धारणा राखे।

प्रतियोगिताको निर्णायकमा धरान नृत्यकला प्रतिष्ठानका अध्यक्ष नन्दा राई र नृत्य निर्देशक रेश्मा राई रहेकी थिइन । निर्णायकको मूल्यांकनका आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

विद्यालयस्तरबाटै नृत्य प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिताले धरानमा सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाएको आयोजकको भनाइ छ। आगामी संस्करणलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिने समेत जानकारी दिइएको छ।