धरान । धरान वडा नम्बर ८ का मुख्य विषयहरू—धरान सभागृह मर्मत, दुई खहरेहरूबाट बस्तीको संरक्षण, बसोबास बस्तीको व्यवस्थापन तथा पूर्वाधारको विकास लगायतका विषयहरू—आफ्नो प्राथमिकतामा रहेको एमाले उम्मेदवार टीकाराम लिम्बूले बताएका छन् ।
बिहीबार ९८ वर्षीया तुलसादेवी सापकोटाबाट टीका, खादा र आशीर्वाद ग्रहण गर्दै नेकपा (एमाले) ले धरान ८ मा घरदैलो शुभारम्भका क्रममा लिम्बूले उक्त कुरा बताएका हुन् । शुभारम्भमा २०४९ सालमा निर्वाचित धरान ८ नम्बर वडा अध्यक्ष रुद्रबहादुर लिम्बू, हालका वडा अध्यक्ष धनबहादुर राईलगायतले समेत उम्मेदवारहरूलाई माल्यार्पण गरेर टोल–टोलमा भेटघाट सुरु गरेका छन् । वडाका पार्टी सदस्य तथा शुभेच्छुकहरूले उल्लेख्य सहभागिता जनाएका छन् भने मतदाताहरू स्वयं टीकाराम लिम्बूको घरदैलो कार्यक्रममा सहभागी भएको पार्टीले जनाएको छ ।
मतदाताहरूको जिज्ञासामा उम्मेदवार लिम्बूले शिक्षा, स्वास्थ्य, रोजगारीका लागि सहजता बनाएर जनताको मौलिक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । धरान ८ मा रहेका सुकुम्बासी समस्या, खहरे खोलाको बाढी नियन्त्रण तथा जीर्ण सभागृहको स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभएको छ । प्रतिनिधि सभा सदस्यको काम कानुन निर्माण गर्ने भए तापनि जनताका अप्ठ्यारा समस्यामा आफूसँगसँगै रहेर अगाडि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
२०६४ को निर्वाचन बाहेक २०४८ सालदेखि चुनाव जित्दै आएको सुनसरी १ मा टीकाराम लिम्बूको पक्षमा जनलहर चलेको मतदाताहरू बताउँछन् । जेनजी आन्दोलनपछि एमालेले युवाको भावना बुझेर ४१ वर्षीय कानुनका ज्ञाता टीकारामलाई चुनावी मैदानमा पठाएको छ ।
फागुन ४ गतेदेखि सुरु भएको घरदैलो कार्यक्रममा युवा उम्मेदवार टीकाराम लिम्बूलाई उत्साहका साथ मतदाताहरूले स्वागत गरिरहेको निर्वाचन परिचालन कमिटीका संयोजक मञ्जु भण्डारीले बताउनुभयो ।


