धरान । प्रेम दिवसको अवसर पारेर आयोजना गरिएको ‘भ्यालेन्टाइन विशेष सांगीतिक साँझ’ सम्पन्न भएको छ। फागुन २ गते (फेब्रुअरी १४) धरान–८ स्थित द बेसमेन्ट क्याफेमा आयोजित उक्त कार्यक्रममा चर्चित गायक विजय वाम्बुले राई र गायिका सुरक्षा सेन्चुरीले विशेष प्रस्तुति दिएका थिए।

कार्यक्रममा गायक राईले आफ्ना लोकप्रिय तथा प्रेमभाव झल्किने गीत प्रस्तुत गर्दै दर्शकलाई उत्साहित बनाएका थिए भने गायिका सेन्चुरीले सुमधुर स्वरमार्फत सांगीतिक माहोललाई थप उचाइमा पुर्‍याएकी थिइन्। दुवै कलाकारको प्रस्तुति दर्शकबाट उत्साहजनक स्वागत पाएको थियो।

यसैगरी स्थानीय गायकहरू मिलन भुजेल, अरुण लिम्बु र हिरा राईले पनि आ–आफ्ना प्रस्तुति दिएका थिए। उनीहरूले विविध विधाका गीत प्रस्तुत गर्दै कार्यक्रममा सहभागी संगीतप्रेमीलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।

प्रेम दिवसको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा युवायुवती तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।