इटहरी, — नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने ट्राफिक प्रहरी कर्मचारीहरूका लागि लक्षित अनुशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ।
इटहरी स्थित कार्यालयमा आयोजित तालिममा निर्वाचनका क्रममा ट्राफिक व्यवस्थापन र सुरक्षा समन्वयलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको थियो। कार्यक्रममा निर्वाचनमा प्रहरीको भूमिका, सम्भावित चुनौती र समाधानका उपाय, सुरक्षा संवेदनशील क्षेत्रको पहिचान, निर्वाचन अवधिमा ट्राफिक व्यवस्थापनको रणनीति, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे विस्तृत जानकारी दिइएको कार्यालय प्रमुख ट्राफिक प्रहरी उपरीक्षक दिपक गिरिले वताए ।
त्यसैगरी, हतियार ह्याण्डलिङ, निर्वाचन आचारसंहिता २०८२ अन्तर्गत सुरक्षा निकाय तथा सुरक्षासम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण, तथा निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ बारे पनि प्रशिक्षण प्रदान गरिएको थियो।
तालिममा प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा २५ जना ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको कार्यालयले जनाएको छ।


