धरान । सुनसरीको धरानबाट प्रहरीले मध्यराति २ सवारी साधन सहित ठूलो परिमाणको गाँजा बरामद गरेको छ। मंगलबार बिहान गरिएको चेकिङ अभियानका क्रममा ९ सय ५५ केजी गाँजासहित दुई वटा सवारी साधन र दुई जना चालकलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान उपमहानगरपालिका–२० स्थित बरडाँडा क्षेत्रमा विशेष चेकिङका क्रममा गाँजा फेला परेको हो। चाँदीबजारबाट विष्णुपादुकातर्फ जाँदै गरेका सवारी साधनलाई रोकी जाँच गर्दा लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त स्थान प्रहरी कार्यालयबाट करिब २५ किलोमिटर पश्चिम–उत्तर दिशामा पर्छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) भिषण बाबु राईको कमाण्डमा खटिएको टोलीले बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडी जाँच गर्दा ३३ पोका गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजाको तौल करिब ४९५ केजी रहेको छ। सो गाडीका चालक बारा जिल्ला, कोल्बी नगरपालिका–८ बस्ने ३३ वर्षीय सन्दिप कुमार माझीलाई नियन्त्रणमा लिइएको छ।
त्यसैगरी BA C ३२३६ नम्बरको अर्को गाडीबाट २३ पोका गाँजा बरामद गरिएको छ, जसको तौल करिब ४६० केजी रहेको प्रहरीले जनाएको छ। उक्त गाडीका चालक काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले दुवै सवारी साधन, गाँजा र चालकहरूलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताए।


