धरान/ धरानमा प्रदेशस्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ।
धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा कोशी प्रदेश फुटबल संघ को आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यालयस्तरीय छात्र तथा छात्रा टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। ग्रासरुट तहबाटै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हाे ।
कार्यक्रमका सभाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध्यक्ष एवं कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नेपाललाई “फुटबलको देश”का रूपमा विश्वसामु चिनाउने दीर्घकालीन अभियानमा आफूहरू जुटिरहेको बताए । उनले फुटबल अब केवल मनोरञ्जनको माध्यम नभई युवाको भविष्य र रोजगारीसँग जोडिएको क्षेत्र बनिसकेको उल्लेख गरे।
विशिष्ट अतिथि तथा एन्फा सुनसरीका अध्यक्ष नवीन राईले AFC र फिफाको मार्गनिर्देशनअनुसार जिल्ला, प्रदेश हुँदै राष्ट्रिय च्याम्पियन छनोट गर्ने संरचना निर्माण भइरहेको जानकारी दिए। भदौमा जिल्ला, कात्तिकमा प्रदेश र माघमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका रहेको उनले वताए ।
कार्यक्रमका प्रमुख अतिथि धरानउपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले अनुशासित खेल प्रदर्शन गर्न सहभागी खेलाडीलाई आग्रह गर्दै नगरपालिकाको तर्फबाट खेलकुद क्षेत्रलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले आज मैदानमा उत्रिएका खेलाडी भोलि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने विश्वास व्यक्त गरे।
प्रतियोगिता आगामी ९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन खेलमा छात्रातर्फ सुनसरीको ज्वालामुखि सेकेन्डरी स्कुललाई धनकुटाको मंगलदेवी सेकेन्डरी स्कुलले २–० गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। त्यसैगरी छात्रतर्फ सुनसरीको प्रभात सेकेन्डरी स्कुलले धनकुटाको बुधुक सेकेन्डरी स्कुललाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको छ।
कार्यक्रममा एन्फाका पूर्व सह–सचिव गोविन्द राई, वरिष्ठ फुटबल खेलाडी भक्तिराज राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायत खेलप्रेमी तथा पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताले कोशी प्रदेशमा ग्रासरुट फुटबल विकासलाई नयाँ गति दिने विश्वास लिइएको छ।
पूर्ण व्यवसायी र स्थायी रोजगारमुखी फुटबल :किशाेर राई

कोशी प्रदेश फुटबल संघ का अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशाेर राईले अहिलेको आवश्यकता पूर्ण व्यवसायी र स्थायी रोजगारमुखी फुटबल भएको बताएका छन् ।
उनका अनुसार नेपाली फुटबल अब केवल प्रतियोगितामा सीमित नभई व्यवसायिक संरचना, खेलाडीको करियर सुरक्षा र रोजगारीसँग जोडिनुपर्ने चरणमा पुगेको छ। फुटबल खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेल व्यवस्थापन क्षेत्रमा आबद्ध जनशक्तिलाई दीर्घकालीन अवसर सिर्जना गर्ने मोडेल आवश्यक रहेको उनले उल्लेख गरे ।
राईले प्रदेशस्तरबाटै क्लब संरचना बलियो बनाउने, उमेर समूहका खेलाडी उत्पादन गर्ने र निजी क्षेत्रसँग सहकार्य गर्दै लिग तथा प्रतियोगितालाई आर्थिक रूपमा सक्षम बनाउनु पर्ने धारणा राख्नुभयो। यसले मात्र फुटबललाई स्थायी रोजगारीको आधार बनाउन सकिने उनको भनाइ छ।
उनका अनुसार ग्रासरुट तहका खेलाडीलाई वैज्ञानिक ढंगले अभिलेखीकरण गर्दै ‘फिफा कनेक्ट’ प्रणालीमार्फत FIFA सँग आबद्ध गराइनेछ, जसले खेलाडीको तथ्यांक र पहिचान अन्तर्राष्ट्रिय फुटबल जगतसम्म पुर्याउनेछ। फुटबल विकासका लागि सरकारी तथा निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उनको जोड थियो।


