धरान — धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा घुर्ने, श्वास रोकिने तथा राम्रोसँग निद्रा नलाग्ने समस्यासम्बन्धी ‘स्लिप मेडिसिन’ सम्मेलन हुने भएको छ।
विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा आयोजना हुने उक्त सम्मेलनमा यस्ता समस्याको समाधानका उपाय, अनुभव र उपचार विधिबारे प्रस्तुति गरिनेछ। प्रतिष्ठानको पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभागको आयोजनामा हुने कार्यक्रममा घुर्ने, श्वास रोकिने तथा निद्रा नलाग्ने समस्या भएका बिरामी—विशेषगरी युवाहरू—ले विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन र उपचार गराउन सक्ने आयोजकले जनाएको छ।
आयोजक विभागका डा. अग्रज उप्रेतीका अनुसार सम्मेलन फागुन ९ गते शनिबार बिहान ८ बजेदेखि प्रतिष्ठानको अडिटोरियम हलमा सञ्चालन हुनेछ।
घुर्ने, श्वास फेर्न गाह्रो हुने तथा राम्रोसँग निद्रा नलाग्ने जस्ता समस्या भविष्यमा गम्भीर बन्दै जान सक्ने भएकाले बेलैमा परीक्षण र उपचार गराउन आवश्यक रहेको डा. उप्रेतीले बताएका छन्।


