धरान । फङ्क फ्युजन डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको ‘धरान स्कूल डान्सिङ स्टार सिजन–३’ को ग्राण्ड फिनाले आगामी फागुन ११ गते हुने भएको छ। कार्यक्रम धरान–१५ स्थित चुम्लुङ हिम भवनमा हुने आयोजकले जनाएको छ।
विद्यालयस्तरका प्रतिभावान नृत्य प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिताको अन्तिम चरणमा ३० जना प्रतिस्पर्धी सहभागी रहनेछन्। विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रदर्शनका आधारमा छानिएका यी प्रतिस्पर्धीहरूबीच अब उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
फङ्क फ्युजन डान्स एकेडेमीका सञ्चालक सागर राईका अनुसार प्रतियोगिता चार चरणमा सञ्चालन गरिएको थियो। जसअन्तर्गत अडिसन राउण्ड र कल्चर राउण्ड सम्पन्न भइसकेका छन् भने मोडर्न राउण्डमार्फत उत्कृष्ट प्रतिभा छनोट गरी अन्ततः फाइनल चरण आयोजना गरिन लागेको हो। प्रत्येक चरणमा प्रतिस्पर्धीहरूको प्रस्तुति, आत्मविश्वास र सृजनशीलताको मूल्यांकन गर्दै उत्कृष्ट प्रतिभालाई अघि बढाइएको उनले जानकारी दिए।
प्रतियोगिताको ग्राण्ड फिनालेमा विजेताले रु. २० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यस्तै प्रथम उपविजेताले रु. १५ हजार तथा द्वितीय उपविजेताले रु. १० हजार नगदसहित ट्रफी र मेडल पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।


