सुनसरी — चर्च ब्याइज युनाइटेड काठमाडौ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा ंप्रवेश गरेको छ । बुधबार  धरान रंशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा झापा–११ लाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै चर्च ब्याइजले उपाधि नजिकको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए । निर्णायक ट्राइबेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार रोक्दै टोलीलाई फाइनल पु¥याए । झापाका लागि प्रसान्त लक्समले मात्र गोल गर्न सके । चर्च ब्याइजका तर्फबाट एरिक विष्ट, रोहन कार्की र सुदीप श्रेष्ठले सफल प्रहार गर्दै टोलीलाई ३–१ को जित दिलाए । सुमित श्रेष्ठको प्रहार भने झापाका गोलरक्षक मनोज गुरुङले बचाएका थिए । ट्राइबेकरमा तीन महत्वपूर्ण बचाउ गरेका गच्छदार म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । खेलको तेस्रो मिनेटमै चर्च ब्याइजले अग्रता लिएको थियो । मिलन राईले गरेको गोलले टोलीलाई सुरुआती ऊर्जा दिएको थियो । त्यसपछि १७औँ मिनेटमा यभियामी फुकुनेले अर्को गोल थप्दै चर्च ब्याइजलाई २–० को बलियो अवस्थामा पु¥याए ।

तर झापा–११ ले खेलमा पुनरागमन गर्ने संकेत दियो । २८औँ मिनेटमा अभिषेक लामाबाट भएको आत्मघाती गोलले झापालाई खेलमा फर्कायो । उक्त आत्मघाती गोलसँगै पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो । दोस्रो हाफमा झापा–११ ले दबाब बढायो । ६१औँ मिनेटमा आरोन थापा मगरले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । खेलको ३४औँ मिनेटमा चर्च ब्याइजले पेनाल्टीको अवसर पाएको थियो । तर रिचार्ड विल्सनले प्रहार गरेको पेनाल्टी झापाका गोलरक्षक सन्दीप लिम्बुले उत्कृष्ट बचाउ गर्दै विफल पारे ।  अब चर्च ब्याइजले उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । 

फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।