धरान/ ‘खेलकुदको राजधानी’का रूपमा परिचित धरानमा पहिलोपटक आयोजना गरिएको बृहत् धरान खेलकुद महोत्सव–२०८२ भव्य समारोहबीच सुरु भएको छ। खेलकुद, संस्कृति र पर्यटनलाई एकै थलोमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको यो महोत्सवलाई धरानलाई औपचारिक रूपमा ‘खेलकुदको शहर’का रूपमा स्थापित गर्ने ऐतिहासिक प्रयासका रूपमा लिइएको छ।

महोत्सवको औपचारिक उद्घाटन फुटबलका लेजेन्ड राजु काजी शाक्यले प्रमुख अतिथिका रूपमा गरे। उद्घाटन समारोहमा धरान खेलकुद मञ्चले शारीरिक सुगठन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्व. कबिर राजभगतलाई मरणोपरान्त सम्मान गरेको छ। साथै, प्रमुख अतिथि शाक्यलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्दै धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले अभिनन्दन गरे।
मंसिर २५ देखि पुस १० गतेसम्म धरान रङ्गशालाको तल्लो मैदानमा सञ्चालन हुने १५ दिने महोत्सवले धरानलाई खेलकुदमैत्री शहरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा आयोजकले गरेका छन्। उद्घाटन समारोहमा प्रमुख अतिथि, खेलाडी तथा सरोकारवालाहरूले सामूहिक रूपमा धरानलाई ‘खेलकुदको शहर’ घोषणा गर्दै देशभर सकारात्मक सन्देश प्रवाह गरेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष किशोर राईले सरकारी तहबाट खेलकुद क्षेत्रमा अपेक्षित सहयोग नपाएपछि खेलाडी र खेलप्रेमी स्वयं अघि सरेर महोत्सव आयोजना गरिएको बताए। “धरानमा प्रतिभाको कमी छैन, तर अवसरको अभाव छ। यही अभाव पूर्ति गर्न यो महोत्सव सम्भव भएको हो,” उनले भने।
धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले धरानले विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्दै आएको उल्लेख गर्दै धरानलाई खेलकुदको शहरका रूपमा संस्थागत मान्यता दिलाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।
महोत्सव अवधिभर दर्शक तथा सहभागीहरूका लागि सशुल्क खेल खेल्न मिल्ने थिम स्टल, प्रत्येक साँझ आयोजना हुने सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति, तथा आदिवासी–जनजातीय परिकारका खानपान स्टलहरू प्रमुख आकर्षणका रूपमा रहनेछन्। यसले खेलकुदसँगै स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसैगरी, पूर्व तथा वर्तमान खेलाडी र ओलम्पियनहरूले जितेका पदक, खेल सामग्री तथा स्मरणीय वस्तुहरूको प्रदर्शनी पनि महोत्सवको विशेष आकर्षण हुने आयोजकले जनाएका छन्।
महोत्सवमा फुटबल, मिनी गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरी लगायत विभिन्न खेलका थिम स्टलहरू समावेश गरिएका छन्। यी गतिविधिहरूले धरानलाई देश–विदेशमा खेलकुद पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिइएको छ। खेलकुद, संस्कृति र पर्यटनलाई एउटै मञ्चमा समेटिएको यो महोत्सवले धरानको पहिचानलाई अझ बलियो बनाउने विश्वास आयोजक तथा सहभागीहरूले व्यक्त गरेका छन्।


