धरान । गृह मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा कोशी प्रदेशको विराटनगरमा प्रदेशस्तरीय राजश्व अभिवृद्धि तथा चुहावट नियन्त्रण गोष्ठी सम्पन्न भएको छ। गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा सम्पन्न सो एक दिवशीय गोष्ठीमा माननीय उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछाने, कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, राजश्व सचिव राम प्रसाद घिमिरे सहित नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी महानिरीक्षक र मुख्य अनुसन्धान निर्देशक एवं गृह मन्त्रालयका सहसचिव एवं भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशक तथा झापा मोरङ्ग र सुनसरी जिल्लाका जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।
सो गोष्ठीमा भन्सार विभाग, आन्तरिक राजश्व विभाग, आन्तरिक राजश्व कार्यालय इटहरी एवं तीन ओटै सुरक्षा निकायको तर्फबाट राजश्व संकलनको अवस्था, राजश्व चुहावट हुने प्रमुख क्षेत्रहरु तथा चुहावट नियन्त्रणका लागि गर्नुपर्ने कार्यहरुका विषयमा प्रस्तुतीकरण गरिएको थियो भने माननीय उपप्रधानमन्त्री एवं गृह मन्त्री, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री, राजश्व सचिवबाट राजश्व चुहावट नियन्त्रणका विविध विषय र आगामी कार्यदिशाबारे दिशानिर्देश गर्नुभएको छ। कार्यक्रममा भन्सार विभाग, राजश्व अनुसन्धान विभाग, राजश्व अनुसन्धान कार्यालय, सुरक्षा निकायले उपलब्ध प्रवधिको उपयोग गर्दै, समन्वयात्मक, एवं पारदर्शी रुपमा सक्रियता पूर्वक कार्य गर्ने र कानुन कार्यान्वयन गरेर राजश्वको लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ। यस वर्ष राजश्व संकलन गत वर्ष सोही अवधिको तुलनामा ८ प्रतिशत बृद्धि भए ता पनि सरकारले लिएको राजश्व वृद्धिको लक्ष्यको तुलनामा न्यून नै रहेकोले जिल्ला स्तरीय राजश्व चुहावट नियन्त्रण समितिलाई थप सक्रिय बनाई राजश्व चुहावट नियन्त्रण गर्न आवश्यक रहेको वक्ताहरुले जोड दिनुभएको छ। प्रमुख अतिथिको आसनबाट गोष्ठीका सहभागीहरुलाई निर्देशन दिनु हुदै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सक्रियता पूर्वक कार्य गरी मौजुदा कानुन कार्यान्वयन गरेर राजश्व चुहावट लागयतका गैर कानुनी कार्य नियन्त्रण गर्न स्थानीय प्रशासनले सक्रियता पूर्वक कार्य गर्न निर्देशन गर्नु भएको छ। गृह सचिव एक नारायण अर्यालले सरोकारवाला निकायहरुको समन्वयात्मक प्रयासबाट एकिकृत रुपमा मासिक योजना बनाएर चुहावट नियन्त्रणका कार्य गर्न निर्देशन दिनुभएको छ भने राजश्व सचिव राम प्रसाद घिमिरेले भन्सार नाका भित्र र बाहिर दुबै तर्फबाट भएको राजश्व चुहावट नियन्त्रण गर्न सूचनामा आधारित गतिविधि आवश्यक रहेको बताउनु भएको छ।