इटहरी : सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित प्राचीन सिंहदेवी मन्दिरअगाडि भइरहेको चर्च निर्माण राेक्नु साटाे धर्म र जातीलाइ गाली गलाैज गरकाे भन्दै धरानका मेयर हर्क साम्पाङमाथि कारबाही माग गर्दै वैदिक सनातनसम्बद्ध सङ्गठनहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमाे ज्ञापन पत्र बुझाएका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय मोरङलाई ज्ञापनपत्र बुझाएको विभिन्न वैदिक सनातन धार्मिक समूहहरूको एकीकृत टोलीले आज सुनसरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
श्रीबालगोपाल मन्दिर र शिवशक्ति कल्याणी केन्द्रको मन्दिरभन्दा ३० फिटको दूरीमा बिनाअनुमति चर्च निर्माण भइरहँदा पनि रोक्ने प्रयास नगरेको भन्दै सो सङ्गठनले मेयर साम्पाङमाथि कारबाहीको माग गरेको हो । चर्च निर्माण गर्ने पक्षले व्यक्तिगत प्रयोजनका लागि भवन निर्माण गर्न रुख कटानको अनुमतिमात्र माग गरेको अभिलेख उपमहानगरपालिकासँग रहेको पाइएको छ ।
पार्टी प्यालेस बनाइने भन्दै निर्माण थालिएको उक्त भवनको उपमहानगरसँग अनुमतिसमेत नलिइएको खुलेको छ । मन्दिरकै नजिक चर्च बनाइएपछि देशभरका सनातनधर्मीहरू असन्तुष्ट भएका हुन् । हिन्दु जागरण नेपाललगायत दर्जनौँ धार्मिक संस्थाले विरोध जनाएका छन् ।
मेयर साम्पाङ आफैँले चर्चको संरक्षण गर्दै हिन्दुविरोधी फेसबुक स्टाटसहरु पोस्ट गरी जातीय र धार्मिक सद्भाव भड्काउने कार्य गरेको भन्दै तत्काल साम्पाङले क्षमायाचना गर्नुपर्ने सङ्गठनले माग गरेको छ ।
सङ्गठनले सोही प्रकृतिको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि पठाएको छ । सनातनधर्मीहरूले मेयर साम्पाङलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।


