धरान । धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा आज (सोमबार)बाट रोटेपिङ सञ्चालनमा आएको छ । धरान उपमहानगर पालिकाका मेयर हर्कराज राईले विरोध आएको भन्दैै एक्स्पोको पहिलो दिनबाटनै रोटेपिङ सञ्चालनमा रोक लगाएका थिए । 
रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले सोमबार देखी रोटेपिङ सञ्चालनमा आएको जानकारी दिए । ‘आवश्यक प्रक्रिया पुरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दियौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै सोमबारदेखी एक्स्पोमा रोटेपिङ सञ्चालनमा आएको छ ।’सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा जारी एक्स्पोमा रोटेपिङबाहेक अन्य मनोरञ्जनका सामग्री र बाल उद्यान सञ्चालन भइरहेका थिए । फागुन २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा एक सय २३ स्टल अवलोकन गर्न सकिनेछ । एक्स्पोमा दिउँसो ३ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दिउँसो तीनदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको एक्स्पोमा पाँच बजेपछि प्रवेश शुल्क २ सय रुपैयाँ निर्धारण गरिएको छ ।
एक्स्पो अवलोकनकर्ताको सहजीकरणका लागि धरानका विभिन्न पाँच स्थानबाट निःशुल्क बस सेवा उपलब्ध गराइएको छ भने एक्स्पो स्थलसम्म सञ्चालन हुने अटोमा छुटको व्यवस्था गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले बताएको छ ।


