सुनसरी : सुनसरीको इनरुवामा पहिलो पटक महिला राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ।
सुनसरी जिल्ला खेलकुद क्लबको आयोजनामा तथा अखिल नेपाल कबड्डी संघको समन्वयमा आगामी वैशाख २६ गतेदेखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सातै प्रदेशका ७ टोली र तीन विभागीय टोलीसहित कुल १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष तरुण कुमार यादवले जानकारी दिएका छन्।
प्रतियोगिताका विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। त्यस्तै तृतीय हुने दुई टोलीले जनही २५/२५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा करिब १२० खेलाडी, १० प्रशिक्षक, १० टिम व्यवस्थापक र ३० निर्णायक गरी जम्मा १७० जनाको सहभागिता रहने अनुमान गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताको कुल लागत करिब ४५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। प्रतियोगिता अखिल नेपाल कबड्डी संघको नियमअनुसार सञ्चालन हुने र लिग कम नकआउट प्रणालीका आधारमा खेलाइनेछ।