धरान । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार बनेका टिकाराम लिम्बू (माङ्लेन) समकालीन धरान राजनीतिमा फरक पहिचान बनाउँदै गएको नाम हो। विद्यार्थी राजनीतिबाट खारिँदै आएका, अध्ययनशील र सादगी जीवनशैलीका माङ्लेनलाई यसपटक पार्टीले युवा पुस्ताको प्रतिनिधिका रूपमा अघि सारेको छ।received_1230454035299057

धरानमा पार्टीका पाका नेताहरूलाई पछाडि पार्दै टिकट पाउनुमा भदौं २३–२४ मा देखिएको ‘जेन–जी’ पुस्ताको राजनीतिक माग र दबाबसँग पनि जोडेर हेरिएको छ। ४० वर्ष उमेर समूहका माङ्लेन इमानदार, कर्तव्यनिष्ठ र बौद्धिक व्यक्तित्वका रूपमा सुनसरीमा चिनिन्छन्। परम्परागत शैलीभन्दा फरक, विचार र योजनामा आधारित राजनीतिका पक्षधरका रूपमा उनको छवि बनेको छ।राजनीतिशास्त्रमा स्नाकोत्तर र कानुनमा स्नातक गरेका माङ्लेन धरान–१० का स्थायी बासिन्दा हुन्।

         विद्यार्थी राजनीतिबाट संसदीय यात्रातर्फ

२०५६ सालमा ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयबाट अनेरास्ववियु हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेका माङ्लेनको यात्रा इलाम, धरान हुँदै सुनसरी जिल्ला नेतृत्वसम्म आइपुगेको छ।

महेन्द्र क्याम्पस धरान मा दुई कार्यकाल क्याम्पस कमिटी अध्यक्ष, अनेरास्ववियु सुनसरी जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका उनी संगठन निर्माण र परिचालनमा सक्रिय अनुहार मानिन्छन्।

         प्रशासनिक अनुभव र स्थानीय शासनको बुझाइ

२०७४ सालमा धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तारा सुब्बा को सचिवालयमा रही राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गर्नु माङ्लेनको राजनीतिक यात्राको महत्वपूर्ण मोड बनेको देखिन्छ। स्थानीय सरकारको कामकाज नजिकबाट बुझ्ने अवसर पाएका उनले प्रशासनिक प्रक्रिया, नीति कार्यान्वयन र सुशासनका अभ्यासबारे प्रत्यक्ष अनुभव बटुलेका छन्। यही अनुभवका आधारमा उनलाई “नीति र कार्यान्वयन जोड्न सक्ने सम्भावित सांसद” का रूपमा समर्थकहरूले प्रस्तुत गर्ने गरेका छन्।

                   पार्टी राजनीतिमा निरन्तरता

२०६४ सालदेखि एमालेको संगठित सदस्य रहेका माङ्लेन वडा सचिव, नगर कमिटी सदस्य, जिल्ला कमिटी सदस्य हुँदै हाल सुनसरी जिल्ला कमिटीमा दोस्रो कार्यकालका निर्वाचित सदस्य हुन्। लगातार दुई जिल्ला अधिवेशनबाट निर्वाचित हुनु संगठनभित्रको भरोसाको संकेत मानिन्छ।

                    प्रतिस्पर्धा र फरक पहिचान

सुनसरी–१ मा परिचित र ‘टेस्टेड’ नेतासँग प्रतिस्पर्धा हुँदैछ। यस्तो प्रतिस्पर्धात्मक मैदानमा पनि माङ्लेनलाई युवा पुस्तामाझ लोकप्रिय, अध्ययनशील र संवादमुखी नेताको रूपमा हेरिएको छ।

उनी भन्छन् - “धरान, बराहक्षेत्र र रामधुनीलाई नाराले होइन, योजनाले अघि बढाउनुपर्छ। ती पालिकाको समग्र विकासका लागि धार्मिक सर्किट आवश्यक छ, र त्यो एमाले नेतृत्वको सरकारले पूरा गर्छ।”

सुनसरीको बदलिँदो राजनीतिक मोडमा अनुभव र युवाशक्तिको सन्तुलन खोजिरहेका मतदाताका लागि टिकाराम लिम्बू (माङ्लेन) वैकल्पिक अनुहारका रूपमा उभिएका छन्। फागुन २१ को निर्वाचन उनका लागि मात्र होइन, युवा नेतृत्वको परीक्षणको घडीका रूपमा पनि हेरिएको छ।