धरान – धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आफ्ना सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई लक्षित गरी धनकुटा जिल्लाको साँगुरीगढी–६, नाम्जे थुम्कीमा उत्प्रेरणा तालिम दिएकाे छ ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि उपप्रमुख अईन्द्र विक्रम बेघा रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईं रहनुभएकाे थियाे ।  

तालिममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मनोचिकित्सक प्रा.डा. धनरत्न शाक्य, ब्रह्मकुमारी राजयोग प्रतिष्ठान धरानका अर्जुन थपलिया र मोटिभेशनल स्पिकर मोहन श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।

स्वास्थ्यकर्मीहरूको शारीरिक तन्दुरुस्तीका लागि जुम्बा प्रशिक्षक हिना गुरुङ राईले आवश्यक शारीरिक अभ्यासका बारेमा जानकारी दिँदै विभिन्न जुम्बा स्टेपहरू प्रशिक्षण दिनुभएको थियो।कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका कर्मचारी उमेश राईले गर्नुभएको थियो।स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले यस्ता कार्यक्रमले मनोबल उच्च बनाउने, कार्यप्रति ऊर्जा थप्ने र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने बताउँदै आगामी दिनमा पनि यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्नुपर्ने माग गरेका छन्।