धरान । धरानमा हालै सम्पन्न प्रदेशस्तरीय सौधशन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस प्रोभिन्स आइडल २०२५’ तथा ‘मिस्टर एण्ड मिस सुनसरी आइडल २०२५’ मा धरान–१६ स्थित युएन नवोदय कलेजका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। ड्रिम्स एम प्रोडक्सनको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सहभागी भएका कलेजका छात्रछात्राहरूले विजेता, उपविजेता, रनरअप र विभिन्न विशेष उपाधिहरू जित्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन्।
यस प्रतियोगितामा युएन कलेजकी रेखा लुम्फुङ्वा लिम्बू ‘मिस प्रोभिन्स’ घोषित भइन् भने उनले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। त्यस्तैगरी, ‘मिस्टर सुनसरी’ उपाधि जितेका सोही कलेजका सुजल लिम्बूले पनि नगद ५० हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भए। त्यसैगरी, ‘मिस प्रोभिन्स सुनसरी’ उपाधि रेखा गुरुङले जितिन्। अन्य उपाधिहरूमा अंकिता लामा फस्ट रनरअप, नुमा चेम्जोङ सेकेन्ड रनरअप र सुनिता विश्वकर्मा थर्ड रनरअप बनिन्।
‘मिस्टर प्रोभिन्स सुनसरी’तर्फ सामदेन तामाङ फस्ट रनरअप घोषित भए भने सुजलजंग बस्नेत सेकेन्ड रनरअप र रिन्चेन तामाङ थर्ड रनरअप बने। यस्तै, बबिन तामाङ पनि विजेता घोषित भएका छन्। प्रतियोगितामा युएन कलेजका विद्यार्थीहरूले एकै पटक १० भन्दा बढी उपाधि जित्न सफल भएका हुन्, जुन आफैँमा एक प्रेरणादायी उपलब्धि हो।
कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले विद्यार्थीहरूद्वारा यति धेरै उपाधि हात पारिनु कलेजका लागि अत्यन्तै गौरवको विषय भएको बताए। “पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरू सक्षम छन् भन्ने प्रमाणित भएको छ,” उनले भने। उनका अनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्नातक तहको होटल म्यानेजमेन्ट कार्यक्रममा युएन कलेजले यसअघि पनि तीन पटकसम्म प्रदेश प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरिसकेको छ।
कलेजका पीआरओ राम लिम्बूले प्रतियोगितामा कलेजका विद्यार्थीहरूको उल्लेखनीय सफलता र एकैपटक थुप्रै उपाधि जितिएकोले कलेजभित्र उत्सवको वातावरण बनेको जानकारी दिए। कलेज प्रशासनले विजयी विद्यार्थीहरूलाई विशेष कार्यक्रममार्फत सम्मानसमेत प्रदान गरेको छ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उप–मेयर अइन्द्रविक्रम बेघा प्रमुख अतिथिको रूपमा उपस्थित थिए र विजयीहरूलाई पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताअघि सहभागीहरूलाई नेतृत्व विकास, व्यक्तित्व निर्माण, सार्वजनिक बोल्ने कला लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको ड्रिम्स एम प्रोडक्सनका सीईओ कैलाश मोक्तानले जानकारी दिए।
कार्यक्रम संयोजक मेरिना तुम्साले किशोरकिशोरीहरूको मनोविज्ञान बुझ्ने, उनीहरूमा रहेको प्रतिभा उजागर गर्ने र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताइन्।


