धरान । प्राकृतिक विविधतायुक्त कोशि प्रदेशको प्रमुख पर्यकीय स्थल भेडेटारमा अंग्रेजी नया बर्ष को अवशरमा ३ दिने फुडफेष्टिवल हुने भएको छ । धनकुटा र धरानको संगमस्थल भेडेटारमा ११ औं फुड फेस्टिवल आगामी पुस १५ गतेदेखि १७ गतेसम्म हुने भएको हो ।  विभिन्न आदिवासी जनजातिका मौलिक खानाका परिकारसहित सहासिक खेल प्रवर्धन र नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिवल केन्द्रित रहने आयोजक   होटल एसोसियसनले जनाएको छ ।  उत्सवमा स्थानीय दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयार गरेको एसोसियसनका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रमलगायतका आकर्षणसहित आयोजना हुने तीन दिने ’फुड फेस्टिवल’मा यो वर्ष जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका साहसिक खेल पर्यटनका गतिविधिसमेत आकर्षणका रुपमा प्रस्तुत हुने उनले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् ।    २०६८ सालदेखि बर्सेनि उत्सवका रुपमा मनाउन सुरु गरिएको खाना उत्सवका कारण होटल पूर्वाधारलगायतमा विकास हुँदै गएको एसोसिएसनका पूर्व अध्यक्ष तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए  ।  ’भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहाना’ भन्ने नारासहित होटल एसोसियसन भेडेटारद्वारा आयोजित ११ औं फुड फेस्टिवलले भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनासम्मको पर्यटन प्रवर्धन गरिरहेको छ ।