धनकुटा,    । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा धनकुटाका सात वटै पालिका मध्ये सबैभन्दा बढी अंक ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ । प्र्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा ६६.६० अंक प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो ।

प्रदेश  नम्बर  १ का १४ जिल्लाका १३७ पालिका मध्ये धनकुटा नगरपालिका कार्यसम्पादन मूल्यांकनमा ९ औं स्थानमा पर्न सफल भएको छ । कार्यमूल्यांकनमा राम्रो नतिजा आएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले खुशी व्यक्त गरेका छन् । ‘कामको मूल्यांकनका आधारमा तुलनात्मक रुपमा हामी राम्रो पोजिसनमा आएका छौं,’ मेयर तामाङले भने, ‘अब आगामी बर्ष अझै राम्रो नतिजा ल्याउँने गरी काम गर्छौ ।’ Chintan-tamang



आयोगले ११ वटा सूचकका आधारमा सात वटै प्रदेश सरकार र १७ वटा सूचकको आधारमा ७५३ वटै पालिकाको कार्यसम्पादन मूल्यांकन गरेको थियो । आयोगद्वारा सार्वजनिक प्रतिवेदन अनुसार धनकुटाका सात वटा पालिका मध्ये धनकुटा नगरपालिकाले सबैभन्दा बढी र पाख्रीवास नगरपालिकाले सबैभन्दा कम अर्थात ४७.०९ अंक पाएको छ । त्यस्तै, छथर जोरपाटी गाउँपालिकाले ६३.५५, सहिदभूमि गाउँपालिकाले ६२.२५, महालक्ष्मी नगरपालिकाले ५८.९४, चौबिसे गाउँपालिकाले ५४.६४ र साँगुरीगढी गाउँपालिकाले ५२.५४ अंक प्राप्त गरेका छन् ।

मूल्यांकन प्रतिवेदन अनुसार ६० प्रतिशत अंक कटाउँने पालिकाको संख्या न्यून छ । राजश्व र व्ययको अनुमान गाउँ तथा नगर सभामा समयमै पेश गरे÷नगरेको वा समयमै पारित भए÷नभएको, राजश्व संकलनको अवस्था, बजेट खर्च, कार्यप्रगति, वेरुजुको अवस्थालाई पालिकाको कार्यमूल्यांकनको आधार बनाइएको छ । त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकताका साथ हेरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, उत्रिर्ण प्रतिशत, गर्भवती महिलाले नियमित गराउँनुपर्ने गर्भजाँचको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी गराउँनेको संख्या, खोप लगाउँनुपर्ने वालवालिकालाई नियमित खोप लगाए÷नलगाएको लगायत सूचकका आधारमा पालिकाको मूल्यांकन गरिएको छ । आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार कार्यमूल्यांकन चित्त नबुझेमा आगामी मंगलबारसम्म पुनरावलोकनका लागि प्रमाणसहित निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।