धरान । उदयपुरका पत्रकार गजेन्द्र राईलाई समाचार लेखेकै आधारमा साइबर अपराध मुद्दा लगाएको भन्दै सुनसरीका पत्रकार आन्दोलित भएका छन् ।
पहिलो चरणको आन्दोलन अन्तर्गत सुनसरीका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा १० मिनेट मौन धर्ना दिएका छन् । धर्नासँगै पत्रकारहरुले प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
समाचारका विषयमा उठेका मुद्दा प्रेस काउन्सिल नेपालले हेर्नु पर्नेमा प्रहरीमार्फत पत्रकारलाई पक्राउ गरी साइबर अपराधको मुद्दा लगाएको भन्दै महासङ्घ सुनसरीले आपत्ति जनाएको छ ।
पत्रकारमाथि गृह प्रशासनको ठाडो हस्तक्षेपले सन्चार अभिव्यक्ति विरुद्ध अङ्कुश लगाएको पत्रकारहरुको ठहर छ ।
धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासङ्घका केन्द्रीय सदस्य इकबाल अहमद तथा प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य एवम् सुनसरी इन्चार्ज सन्तोष काफ्लेले लोकतन्त्रको मलजल गर्ने पत्रकारलाई प्रशासनले बदनियतपूर्ण तरिकाले साइबर अपराधको मुद्दा लगाएको बताए । उनीहरुले पत्रकार राईको निशर्त रिहाइका लागि सुनसरीका कलमजीवि आन्दोलित भएको बताए ।
नेपाल पत्रकार महासङ्घ सुनसरीको नेतृत्वमा जिल्ला प्रशासन पुगेको पत्रकारको टोलीले ज्ञापन पत्र बुझाउदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई विषयलाई गम्भीरतापूर्वक लिइदिन अनुरोध गरेको महासङ्घ अध्यक्ष जनकऋषि राईले बताए ।
धर्ना कार्यक्रममा केन्द्रीय सदस्य अमर खड्का, जिल्ला सल्लाहकार सन्तोष काफ्लेलगायत जिल्लाका पत्रकारका सङ्घ सङ्गठनका नेतृत्वसहित आम सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
महासङ्घ उदयपुर शाखा सदस्य गजेन्द्र राईलाई मङ्सिर–१० गते समाचार लेखेको विषयमा साइबर अपराध मुद्दा लगाएर पक्राउ गरिएको थियो । उनको रिहाइको माग गर्दै संचारकर्मीहरुले कालो पट्टी बाँधेर बुधबार मौन विरोध जनाएका हुन् ।


