धरान मंसिर १६
आमा समूहकी पुर्व अध्यक्षको नेतृत्वमा आएका महिलाहरुको एक समुहको कुटपीटबाट मृत्यु भएकी धरान १३ की उषा राईलाई न्याय माग्दै धरानमा महिलाहरुले प्रदर्शन गरेका छन् । महिलाहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभाग र इलाका प्रहरी कार्यालय धरानअघि नाराबाजी गरेका हुन् । नाराबाजी गर्दै महिलाहरुले आरोपित सबैलाई पक्राउ गर्न माग गरेका छन् । प्रहरीले मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरेको छ । उनका श्रीमान् गोविन्द राईसहित कुटपिटमा सम्लग्न सबैलाई पक्राउ गरिनुपर्ने आन्दोलनकारी महिलाहरुको माग छ । मेरो श्रीमानसँग सम्बन्ध के छ ? भन्दै उर्मिला राईको नेतृत्वमा आएर एकल महिला माथि कुटपिट गरेको आरोप छ । कुटपिट भएको भिडियो समेत सामाजिक सन्जालमा भाइरल भएको छ । आमा समूहकी पूर्व अध्यक्षसमेत कुटपिटमा सम्लग्न भएकाले आमा समूहको बदनाम भएको जनजागृति आमा समूहकी अध्यक्ष निर्मला तिम्सिनाको भनाइ छ । समूहले पत्रकार सम्मेलन गर्दै घटनामा आमा समूहको सम्लग्नता नरहेको स्पष्ट पारेको छ ।
आमा समूहका नाममा महिलामाथि नै भौतिक आक्रमण र हिंसा हुँदै आएको स्थानीयको आरोप छ । आन्दोलनरत महिलाहरुले आमा समूहलाई खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन् । स्थानीयका अनुसार मृतक उषामाथि आमा समूहको नाममा कार्तिक ३ गते महिलाहरुको एक समूहले कुटपिट गरेको थियो । कुटपिटपछि घाइते उनलाई तत्काल बिपी प्रतिष्ठान धरानको सघन कक्षमा उपचारका लागि पुर्याइएको थिये । उपचारपछि डिस्चार्ज गरिएको उषाको स्वास्थ्य अवस्था मङ्सिर ६ गते पुनः बिग्रिएको थियो । अस्वस्थ भई अस्पताल भर्ना भएकी उषाको हप्तादिनपछि मृत्यु भएको थियो । अहिले उनको शव बिपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । आरोपी पक्राउ नगरी पोस्टमार्टम नगर्ने परिवारले अडान लिंदै आएका छन् । आरोपीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । मृतक उषाका श्रीमानको दुई वर्ष अघि मृत्यु भएको थियो । उनका दुई छोरीहरु छन् । धरान १३ मा डेरा गरी बस्ने उषा सिलाइबुनाइ पेशा गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन् ।
धरानमा सामाजिक महिलाहरु आवद्ध संघसंस्थाहरुको छाता संस्था महिला सञ्जाल धरानले ईलाका प्रहरी कार्यालय, इलाका प्रशासन र उपमहानगरपालिका र नगरको न्यायिक समितिलाई घटनाबारे ध्यानाकर्षण गराएको छ ।
सञ्जालले यथाशिघ्र सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । महिला सन्जालले मानवअधिकार आयोग विराटनगर, राष्ट्रिय महिला आयोग काठमाडौ र नेपाल पत्रकार महासंघ सुनसरीलाई बोधार्थ पठाएको छ ।
धरानउपमाहानगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक अइन्द्रविक्रम बेघाले घटनामा संलग्नको पहिचान गरेर कारबाही हुनुपर्ने बताएका छन् । जघन्य अपराधको घटनालाई राजनीतिकरण गर्न नहुने बताउदै बेघाले मृतक परिवारलाई न्याय दिलाउन भूमिका खेल्ने बताए । घटनालाई प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिइरहेको ईलाका प्रशासन कार्यालय धरानका अधिकृत लोकमान श्रेष्ठले बताए । उनले दोषीलाई कानुनबमोजिम कारबाही हुने बताए ।


