धरानको व्यापार, पर्यटन र विकासको मुहार बदल्ने गोपाल श्रेष्ठकाे अठाेट नेतृत्व होइन,समस्या समाधानको नाम हाे गाेपाल
- असार २९, २०८२
- ६८४ पटक पढिएको
- धरान टुडे
धरान ः कहिल्यै नथाक्ने शहर। कहिल्यै नथाक्ने ऊर्जा बोकेको शहर। यही धरानलाई आर्थिक, व्यवसायिक र पर्यटनको मेरुदण्ड बनाउने सपना बोकेर अगाडि बढेका छन् गोपाल श्रेष्ठ – जो सुनसरी उद्योग वाणिज्य संघको नेतृत्वमा आउन तयार छन्। उनको चुनावी एजेन्डा, भाषण वा वाचा मात्र होइन — यो धरानप्रतिको गहिरो माया, जिम्मेवारी र जिम्मेवारी निभाउने साहसको कथा हो।
धरान–लेउती सुरुङ मार्गः सपना होइन, सम्भावनाको ढोका
गोपाल श्रेष्ठका लागि धरान–लेउती सुरुङ मार्ग कुनै भाषणको सजावट होइन, यो भविष्य निर्माणको बुट्टा हो। उनी भन्छन्, “मुलघाट हुँदै तमोर करिडोर र मदन भण्डारी राजमार्ग दुबै धरान बाइपास गर्छन्, यसले हाम्रो व्यापार र शहरलाई नोक्सान पुर्याउँछ।“ तर यदि सुरुङ मार्ग बन्यो भने “धरान पहाडी व्यापार र पर्यटकको केन्द्र बन्छ,“ उनी विश्वासका साथ भन्छन्। “यही बाटो हुँदै तमोरको पानी पनि धरान ल्याउन सकिन्छ — खानेपानीको दिगो समाधान त्यही हो।“
प्रदेशस्तरीय प्रर्दशनी केन्द्रः व्यापारको नयाँ केन्द्र
धरानलाई देशकै प्रमुख औद्योगिक एक्स्पो हब बनाउन गोपाल श्रेष्ठ कटिबद्ध छन्। “वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले यो योजना धरानलाई दिनुभएको हो,“ उनी सम्झिन्छन्, “अब हामीले जग्गा उपलब्ध गराएर तत्कालै काम अघि बढाउनुपर्छ।“ प्रर्दशनी केन्द्र बनेपछि “यहाँ ३६५ दिन महोत्सव चल्छ, आयस्रोत धरानकै — गौरव पनि धरानकै।“
संघको डिजिटल युगमा प्रवेशः सूचना, संरचना र सुरक्षाको संयोजन
गोपाल श्रेष्ठ प्रविधिको महत्त्वलाई राम्ररी बुझ्छन्। त्यसैले सुनसरी उद्योग वाणिज्य संघलाई पूर्णरूपमा डिजिटलाइज गर्ने योजनाका साथ आएका छन्।“सदस्यताको डेटा, व्यापारको वर्गीकरण, सूचना सम्प्रेषण सबै डिजिटल। मोबाइल एसएमएसबाट नवीकरण सूचना, व्यवसाय विमा, अडिट सेवा, सबै आधुनिक बनाउनेछौं।“ डिजिटलाइजेसन सँगसँगै उनी सामूहिक व्यवसाय विमा कार्यक्रम ल्याउने तयारीमा छन् — जुन नेपालमै पहिलो उदाहरण बन्न सक्छ।
पर्यटकिय हव धरान
गोपाल श्रेष्ठ भन्छन्, “नाम्जे र भेडेटारतिर भारतका पर्यटक आउँछन्। होटल खुलेका छन्, तर समयले रोक्छ।“ उनको सोच छ — “राति १२ बजेसम्म होटल चल्ने व्यवस्था गरिनुपर्छ, र त्यो क्षेत्रलाई सरकारी रुपमा ‘पर्यटन क्षेत्र’ घोषित गर्नुपर्छ।” उनी धरानलाई केवल गन्तव्य होइन, अनुभव बनाउने लक्ष्यमा छन्।
वस्तुगत र युवा व्यवसायी समन्वय समितिः सोच र योजनाको सेतु
“संघमा केवल कुर्सीमा बसेर काम हुँदैन,“ उनी भन्छन्। “वस्तुगत संघका अध्यक्ष र युवा व्यवसायीको समन्वयमार्फत धरानको खस्कदो व्यापार माथि उठाउने योजना बनाउनेछौं।“ उनी युवालाई मौका दिने र अनुभविलाई सम्मान गर्ने सोच बोकेका छन् — जुन समन्वयको उत्कृष्ट नमूना बन्न सक्छ।
गोदामघर, होलसेल हब र नीति सुधारः धरानको व्यापारिक क्रान्ति
धरानमा ठूलो गोदाम नहुनु, व्यवसायीहरूको व्यथा हो। गोपाल श्रेष्ठ यसमा पनि ठोस योजना लिएर आएका छन्। “नगरपालिकाको जग्गामा गोदाम बनाएर सुलभ भाडामा व्यापारीलाई दिने हो भने, उनीहरू काठमाडौं जानुपर्दैन, सस्तो सामान धरानमै पाइन्छ।“ एक व्यापारिक हबको सपना, व्यावहारिक योजना — यति सशक्त ढंगले प्रस्तुत गर्ने नेता विरलै पाइन्छ।
विधान संशोधन र समावेशिताः संघको नयाँ युग
गोपाल श्रेष्ठ भन्छन्, “हाम्रो देश संघीय बनिसक्यो, संघको विधान भने पुरानै। त्यसैले महिला सहभागिता, बाहिरी क्षेत्रका व्यवसायी प्रतिनिधित्व सुनिश्चित गर्न विधान फेरिन्छ।“ संघलाई साँचो अर्थमा सबैको साझा घर बनाउने उनको दृढता छर्लंग देखिन्छ।
लगानी आकर्षणदेखि व्यापारिक सुरक्षासम्मः भविष्य तयार गर्न थालिएको हो ।
गोपाल श्रेष्ठले धरानमा केवलकार, स्तरीय होटल र धार्मिक सर्किटको परिकल्पनासहित लगानी आकर्षणको योजना ल्याएका छन्। उनी सुनचादी वा मोवाइल व्यवसायीको समस्या समाधानमा पनि अडान राख्न्दै भने — “बैंकिङ प्रणाली, ट्रान्सपरेन्सी र नीति नै समस्याको समाधान हो।“
राजनीतिभन्दा माथि उठेर, सबैको साझा उम्मेदवार
गोपाल श्रेष्ठ भन्छन्— “म कुनै दलको होइन, व्यवसायीको उम्मेदवार हुँ। म हरेक वर्ग, संघ, व्यवसायी, युवाको समर्थनसहित अघि बढिरहेको छु।“
निष्कर्षःनेतृत्व होइन,समस्या समाधानको नाम हो गोपाल
गोपाल श्रेष्ठको एजेन्डा केवल चुनाव जित्न बनाइएको पर्चा होइन — यो धरानको व्यापार, पर्यटन, रोजगारी, संरचना र भविष्यको सम्पूर्ण खाका हो। वाणिज्य संघले आज नेतृत्व होइन, दृष्टिकोण खोजेको छ।गोपाल श्रेष्ठ त्यस दृष्टिकोणको प्रतिनिधि बन्ने सामथ्र्य राख्छन्।