धरान : सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘धरान एक्स्पो–२०८०’ को सम्पूर्ण तयारी पूरा भएको छ ।फागुन ११ गतेदेखि २३ गतेसम्म धरान-१६ स्थित रंगशालामा आयोजना हुन लागेको एक्स्पोको तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। उद्योग वाणिज्य महासंघ, संघीय सरकारका निकायहरू, कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा ‘धरान एक्स्पो–२०८०’ आयोजना हुन लागेको हो ।
आयोजक समितिका अनुसार शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक्स्पोको उद्घाटन गर्नेछन्। एक्स्पो विगतका वर्षहरुभन्दा फरक हुने आयोजकले जनाएको छ। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार यसपटकको एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनहरु सहित साहसिक खेल मन पराउनेहरुका लागि जीप लाइन समेत थपिएको छ। कुल १३ दिन चल्ने एक्स्पोमा नेपालसँगै भारत र बङगलादेशका उत्पादनहरु समेत प्रदर्शनीमा राखिने छन्।एक्सपोमा दुई प्रकारका स्टलहरु रहने छन् । स्टल व्यवस्थापन संयोजक विष्णु बरालका अनुसार डोम ह्याङ्गरभित्र करिब १०० वटा सम्वेदनशील वस्तुहरु राखिने छ भने अन्य स्टलहरु बाहिर व्यवस्थापन गरिएको छ । एक्स्पोमा विशेष रूपमा धरानको स्थानिय उत्पादन, कृषि सामाग्री बेसार, कालो बङ्गुर, तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गरिने स्टल संयोजक बरालले बताए ।    
स्वदेशी र विदेशी उत्पादन समेट्ने गरी कुल १५० स्टलहरु रहने एक्स्पोमा ५ लाख बढी उपभोक्ताहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ।एक्स्पोमा १६ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । एक्स्पोबाट स्वदेशी उत्पादन तथा प्रविधि प्रवर्द्धन, व्यावसायिक उत्पादनमा जोड, उत्पादक तथा उपभोक्ताबीच सम्बन्ध विस्तार र पर्यटन प्रवर्द्धन तथा लगानी मैत्री वातावरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविद्यि, अटोमोबाईल्स, बाल उद्यान र खानाका विभिन्न परिकार सँगसँगै नियमित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने जनाइएको छ। एक्स्पोमा बिहानदेखि बेलुका ४ बजेसम्म प्रवेश नि:शुल्क हुने र बेलुका ५ बजेपछि प्रवेश टिकट १०० देखि २०० रुपैयाँसम्म रहने बताइएको छ ।एक्स्पो अवधिमा विभिन्न गोष्ठीहरु पनि हुने छन्। गोष्ठीमा साना लगानीबाट कसरी व्यवसाय गर्ने र व्यवसायलाई कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा तालिम दिने बताइएको छ ।