धरान । महामारीका कारण  मदिरा बजार साविकभन्दा ४० प्रतिशत घटेको बताउँदै व्यवसायीले कर होइन करको दायरा बढाउन माग   गरेका छन्  । धरान मदिरा व्यवसायी संघको १० औं  साधारण सभा तथा वार्षिक उत्सवको अवशरमा वोल्दै व्यवसायीहरुले  त्यस्ताे माग गरेका हुन्।  वार्षिक १५ देखि २० प्रतिशत बढ्ने अव्यवस्थित बजारको प्रतिस्पर्धाले व्यवसायी पलायन हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । स्टार्टप विजनेसका नाममा मदिरा व्यवसायीलाई सहुलियत ऋण दिन राज्यको निकाय उदासीन रहेको उनीहरूले आरोप लगाएका छन् । वार्षिक उत्सवका प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासङ्घका अध्यक्ष सोनाम शेर्पाले व्यवसाय गर्न हाल गाह्रो अवस्था रहेकाले संयमित भएर व्यापार व्यवसाय गर्न अध्यक्ष शेर्पाले व्यवसायीलाई आग्रह गरे ।   घाटा खाएर मदिरा व्यवसायीले व्यवसाय गर्दा बजार डामाडोल भएको र व्यवसायी ऋणमा डुब्ने र पलायन हुने गरेको अध्यक्ष शेर्पाले बताए ।  सुनसरी उद्योग वणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले मन्दीले दिनप्रतिदिन व्यावसायिक सटर बन्द भएको बताए । ’यो महिनामा धरानमा तीन वटा सटर बन्द भएको छ,’ अध्यक्ष श्रेष्ठले भने,’बैङ्कको ब्याज तिर्न सकेका छैनन्, घरको भाडा तिर्न सकेका छैनन्, यसको निम्ति ठोस नीति ल्याउन पर्दैन सरकारले ?’ मन्दीका कारणले अन्तर्राष्ट्रिय बजारमा करको नीति परिवर्तन भइरहेको, करको दरलाई सहुलियत रुपमा अगाडि लगिरहेको अवस्थामा व्यवसायीको पक्षमा ठोस नीति ल्याउन नसकेको उनले बताए । ’सरकारले किन गरिरहेको छैन, जबसम्म हाम्रो सरकारमा इमान्दारिता र स्पष्टता हुन सक्दैन, स्थिर र ठोस नीति आउन सक्दैन, तबसम्म हाम्रा समस्या ज्यूँका त्यूँ रहन्छ ।’ अध्यक्ष श्रेष्ठले भने । 

पत्रकार  सहित व्यवसायी र उत्कृष्ट कम्पनी  लाई  सम्मान

madira 2

धरान मदिरा व्यवसायी संघको १० औं  साधारण सभा तथा वार्षिक उत्सवका क्रममा पुराना मदिरा व्यवसायीसहित पत्रकारलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा अग्रज मदिरा व्यवसायी विजयपुर इन्टरप्राइजेजका सुरेशमान स्थापित, मदिरा कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रीका सिनियर सेल्स अफिसर पवन श्रेष्ठ र पूर्व क्षितिज प्रकाशन प्रालि अन्तर्गत ब्लाष्टखबरडटकमका कार्यकारी सम्पादक नवराज विष्टलाई सम्मान गरिएको हो । यस्तै कार्यक्षेत्र बाहिर गएर हुने मदिरा बिक्री वितरणलाई निरुत्साहित गर्ने अभियानमा सक्रिय भूमिका खेलेका अमित गुरुङलाई सम्मान गरिएको छ । यसैगरी सङ्घका सहयोगी कम्पनीलाई समेत सम्मानपत्रद्वारा सम्मान गरिएको छ । सर्वोत्कृष्ट सहयोगी गोर्खा ब्रुअरी प्राली, उत्कृष्ट सहयोगी जेजेआई ग्रुप कम्पनी र आइकोनिक बेभ्रेज वाइन प्रालिलाई सम्मान गरिएको हो । 

दुई प्रतिवेदन अनुमोदन 

madira 3

धरान मदिरा व्यवसायी संघको १० औं  साधारण सभा तथा वार्षिक उत्सवमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लिलकुमार माझीले धरानमा कोरोना महामारीदेखि  डेङ्गीसम्मले आक्रान्त बनाएको बताए । वार्षिक साधारण सभामा प्रस्तुत अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदनलाई सभाले अनुमोदन गरेको छ । सभामा अध्यक्ष लिलकुमार माझीले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष निमेष अग्रवालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । धरानका उद्योगी व्यवसायी, मदिरा उत्पादक कम्पनीका प्रतिनिधिलगायतलाई आमन्त्रण गरी आयोजित वार्षिक उत्सव कार्यक्रममा मदिरा व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष नवीन तामाङ,  केन्द्रीय उपाध्यक्ष मदन गौतम,  अंशु बन्जारा,केन्द्रीय सचिव गोविन्द बराललगायतको उपस्थिति रहेको थियो ।  स्वागत मन्तव्य संघका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले राखेका थिए । 

madira 4 1