काठमाडौं । जनकपुर नाइट्सले केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन गर्दै राउन्ड रोबिन लिगमा शीर्षस्थान कब्जा गरेको छ ।राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा भइरहेको केबी साम एनकेएलको लिग चरणमा जनकपुरले अपराजित रहँदै चार जित र एक बराबरीसँगै २३ अंक बनाएर शीर्षस्थान कब्जा गरेको हो । यससँगै जनकपुरले एनकेएलको क्वालिफाइर १ खेल्ने पनि निश्चित गरेको छ ।
लिगका शीर्ष दुई टिमले क्वाफिाइर १ खेल्नेछन् । त्यसअनुसार जनकपुर र दोस्रो स्थानमा रहेको विराटनगरवीच क्वालिफाइर १ को प्रतिस्पर्धा सोमबार हुनेछ । क्वालिफाइर १ को विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टिमले फेरि मौका पाउनेछ ।
काठमाडौं र धनगढीले सोमबार इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटरको विजेता र क्वालिफाइर १ मा पराजित टिमवीच क्वालिफाइर २ मा खेल हुनेछ, जसको विजेताले क्वालिफाइर १ को विजेताविरुद्ध एनकेएलको फाइनल खेल्नेछ । फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करणको फाइनल माघ १८ गते हुनेछ ।
मुख्य प्रशिक्षक पार्वती राईले सम्हालेको जनकपुरले राउन्ड रोबिन लिगमा हिमालयन रेइडर्सलाई ३५–२४, धनगढी वाइल्डक्याट्सलाई ३७–३१, विराटनगर ब्यान्डिट्सलाई ४०–३८ र पोखरा लेकर्सलाई ३६–२९ ले पराजित गरेको थियो भने अन्तिम खेलमा घनश्याम रोका मगरको कप्तानीमा रहेको काठमाडौं माभरिक्सविरुद्ध ३९–३९ को रोमान्चक बराबरी खेल्दै अंक बाँडेको थियो
६ सहरका ६ टिम सहभािग एनकेएलको पहिलो संस्करणमा जनकपुर नाइट्स (२३), विराटनगर ब्यान्डिट्स (२१), काठमाडौं माभरिक्स (१९) र धनगढी वाइल्डक्याट्स (११) ले लिगको शीर्ष चारमा रहँदै प्ले–अफमा स्थान बनाउँदा पुछारका दुई टिम पोखरा लेकर्स (४ अंक) र बुटवलको हिमालयन रेइडर्स (७ अंक) भने लिग चरणबाटै बाहिरिए ।एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलमा ७ वा त्योभन्दा कम अन्तरको हारमा टिमले १ अंक पाउने प्रावधान छ । जित्ने टिमले ५ अंक र स्कोर बराबरी भएमा ३–३ अंक प्राप्त हुन्छ ।