धरान ः  सुनसरीमा लागु पदार्थ सेवन गरी सवारी चलाउनेलाई प्रहरी प्रशासनले निगरानी बढाएको छ । सुनसरी प्रहरीले लापसे सेवनगर सवारी चलाउने ४३ जनालाई नियन्त्रणमा लिइ कारबाही सुरु गरेको छ । प्रहरीले दूइसातामा नियन्त्रणमा लिएका ४३ मध्ये ६ जना पुर्पक्षमा जेल चलान भएको तथा   १० जना धरौटीमा छटेको बताउदै जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।   लागुपदार्थको सेवन गरी सवारी चलाउँदा हुन सक्ने दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यसाथ जिल्लामा सवारी चेकिङ उपर कडाई गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन बमोजिम ट्राफिक प्रहरीको उपस्थितिमा जिल्लाभर सवारी चेकजाँचका लागि विशेष टोली परिचालन गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी प्रदेश इटहरीले जनाए अनुसार मातहतका ट्राफिक प्रहरी जनशक्तिलाई परीक्षण किट सहित जिल्लाभर परिचालन गरिएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख बिनोद घिमिरेका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले जिल्लाका शहर बजार सहित मूख्य राजमार्गका साथै जिल्लाको भित्री सडक खण्डमा समेत चेकजाँचको क्रमलाई तिव्रता दिई रहेको छ । स्वास्थ्यकर्मी सहितको उपस्थितिमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको टोलीले जारी राखेको लापसे सहितको जाँचमा दुई दर्जन बढी पक्राउ समेत परिसकेको सुनसरी प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सुमन तिम्सिनाले पक्राउ परेकाहरुको हकमा कानुन बमोजिमको कार्वाहीको प्रकृया अघि बढाउने गरिएको बताए । सुनसरीमा तिव्रता दिइएको लापसे उपरको अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी सहित जिल्ला सुरक्षा समितिको टोली नै अनुगमनमा हिड्ने गरेको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार जिल्लाभर लापसे गरी सवारी चलाउने, ढोका खुल्ला राखी गाडी कुदाउने र सवारीसाधनको स्वरुप परिवर्तन गर्ने तथा ठूलो आवाज निकाल्ने गाडी तथा चालकलाई नियन्त्रणमा लिई कार्वाहीको प्रकृयामा लैजान सुरक्षा निकायलाई निर्देशन दिइएको छ । सोही बमोजिम ट्राफिक र नेपाल प्रहरीको संयुक्त टोलीले काम गरिरहेको मिश्रले बताए । 

छड्के जाँचका रुपमा अघि बढाइएको सवारी साधन लक्षित लापसे परीक्षण अभियानमा तीन दर्जन बढी चालक कार्वाहीमा परिसकेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतीय सीमावर्ती क्षेत्र पुगेर लागुऔषध सेवन गर्ने देखि निजी तथा सार्वजनिक सवारी साधन चलाउने सम्म रहेका छन । पक्राउ परेकाहरुको हकमा म्याद थप गरी कानुनी कार्वाहीको प्रकृया अघि बढाउने गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।