धरान ः सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा एचपिभी खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । खोप अभियानमा सुनसरीका ४८ हजार ८ सय ५६ जना बालिकालाई समेटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
इनरुवामा सरोकारवालाहरुको उपस्थितिका बिच अभियान बारे जानकारी गराएको स्वास्थ्य कार्यालयले खोपका लागि सबै विद्यालयमा पुग्ने गरी स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाएको छ ।
विद्यालयको पहुँच भन्दा बाहिर रहेका उमेर समूह भित्र पर्ने बालिकाहरुको हकमा भने अभियानको अन्तिम दिन फागुन २ गते शिविर खडा गरी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
एचभिपी खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको भएकाले सबै १० देखि १४ वर्ष उमेर भित्रका बालिकाहरुको लागि अनिवार्य रहेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईले बताउनु भयो । प्रसाईले निर्धक्कसाथ खोप लगाउन आग्रह समेत गर्नु भएको छ ।
खोप अभियानलाई सुनसरीमा सतप्रतिशत पुर्याउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ । कार्यालयले अभियानमा साथ र सहयोगका लागि सबै सरोकारवाला समक्ष आग्रह समेत गरेको छ । खोप अभियानबारे जानकारी दिन इनरुवामा आयोजित कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहित सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।