सुनसरी , साविक विजेता सगरमाथा युथ क्लब १४ औँ संस्करणको इटहरी गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । इटहरी रंगशालामा शनिबार राती सम्पन्न उद्घाटन खेलमा सगरमाथाले बिभागीय टिम शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।  सगरमाथाको जितमा विमल घर्तीमगरले २ र विदेशी खेलाडी स्टेफिन समिर विलोङले १ गोल गरे । खेलको सुरुवाति तेस्रो मिनेटमै स्टेफिन विलोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ३६ औाँ मिनेटमा विमल घर्तीमगरले आफ्नो पहिलो गोल गर्दै सगरमाथालाई २–० को स्थितीमा पुर्याए । विमलले उक्त गोल शुसिल राईको पासमा गरेका थिए । दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको एपिएफले खेलको ६६ औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । एपिएफका लागि उक्त गोल सब्सीच्युट खेलाडी अनिस महर्जनले गरेका थिए । उनी ५७ औँ मिनेटमा महेश लामाको स्थानमा मैदान प्रवेश गरेका थिए । कमजोर डिफेन्सको फाईदा उठाउँदै अनिसले कुलदिप कार्कीको पासमा हेड मार्फत आकर्षक गोल गरे । मछिन्द्र क्लबका अधिकांश खेलाडी लिएर मैदान उत्रेको सगरमाथाका लागि ८८ औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । उनले विजय भुजेलले उपलब्ध गराएको पासलाई सिधै जाली चुमाए । खेलको म्यान अफ द म्याच विमल नै घोषित भए । उनले नगद १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् । आईतबारको दोस्रो क्वाटरफाईनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजङ्घा फुटबल क्लब भारत बीच हुनेछ । प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ ।