धरान। शनिबार देखि धरानमा सुरूहुने  मोसफलकै चर्चित फुटबल प्रतियोगीता बुढासुब्बा गोल्डकपको २४ औं संस्करणको तयारी पुरा भएको छ ।फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने गोल्डकपको आज टाईसिट सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगीतामा जम्मा ८ टिम सहभागी छन् ।सार्वजनिक टाईसिट अनुसार गोल्डकपको फागुन २६ गते हुने उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसी बीच हुने छ । त्यस्तै फागुन २७ मा हुने दोस्रो क्वाटर फाईनल खेल एनआरटी काठमाडौं र त्रिभुवन आर्मी क्लब काठमाडौं बीच हुने छ । त्यस्तै फागुन २८ गते तेस्रो क्वाटर फाईनल खेल नेपाल पुलिस क्लब काठमाडौं र मोरङ फुटबल क्लब बीच हुने छ भने फागुन २९ गते चौथो क्वाटर फाइनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र चर्च ब्वाईज युनियन काठमाडौं बीच हुने छ । धरान रंगशालामा हुने गोल्डकपको पहिलो सेमीफाईनल खेल फागुन ३० र दोस्रो सेमीफाईनल चैत १ गते हुनेछ भने प्रतियोगीताको फाईनल चैत ३ गते हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । अध्यक्ष तामाङका अनुसार गोल्डकप विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी र मेडल पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार र प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीले नगद ३५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङले जानकारी दिनुभयो।प्रतियोगिताका लागि ७७ लाख ६० हजार आम्दानी र ६६ लाख ५५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।