धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले वडा कार्यालय भवनको हल यूट्युबर सञ्चालकहरूको सङ्गठनलाई निशुल्क दिएका छन् । वडाध्यक्ष काफ्लेले ‘अनलाइन मिडिया एसोसिएसन नेपाल’ नामक यूट्युबरको सङ्गठनलाई कार्यालय सञ्चालनका लागि निशुल्क कोठा दिएका हुन् । निशुल्क दिइएको कोठामा बिहीबार वडाध्यक्ष काफ्लेले प्रमुख अतिथि बनेर कार्यालयको उद्घाटन समेत गरेका छन् । कार्यालयमा उपस्थित बरिष्ठ पत्रकार हर्ष सुब्बाका अनुसार कोठा निशुल्क दिइएको हो । बरिष्ठ पत्रकार सुब्बाले भने, ‘वडाध्यक्ष ज्यूले मन्तव्य राख्ने क्रममा निशुल्क कोठा दिएको बताउनु भयो ।’ तर कुनै पनि सञ्चार माध्यमले आधिकारिकता पाउनका लागि प्रेस काउन्सिलमा दर्ता हुनु पर्ने व्यवस्था छ । सामाजिक संस्था भए तापनि आधिकारिता प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने कानूनी प्रावधान छ । तर जिल्ला प्रशासनमा समेत दर्ता नभएको सङ्गठनलाई वडाध्यक्ष काफ्लेले निशुल्क कोठा दिएका हुन् । अनलाइन मिडिया एसोसिएसन नेपालका अध्यक्ष स्वर्णिमहाङ लिम्बूले कार्यालय झोलामा बोकेर हिड्नु राम्रो हुदैन भनेर कार्यालयका लागि कोठा दिइएको बताए । उनले कानूनी व्यवस्थाका विषयमा भने, ‘वडाध्यक्षलाई सोध्नु राम्रो होला ।’ यता धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले पनि अध्यक्ष लिम्बूकै भाषामा केही समयका लागि दिइएको दावी गरे । उनले भने ‘दुई महिनाका लागि मात्र दिइएको छ । दुइचार पनि अन्तै लान्छन होला ।’ उनले अन्य संस्थालाई पनि दिएको बताए । तर नगरपालिकामा मात्र दर्ता भएको संस्थालाई निशुल्क दिनु गैर कानूनी भएको कानूनका जानकारहरु बताउँछन् । अधिवक्ता बिदुर महत भन्छन्, ‘संस्था दर्ता ऐन २०३४ ले जिल्ला प्रशासन कार्यालयको दर्तालाई मात्र आधिकारिता दिन्छ । नगरमा दर्ता भएकालाई दिइएको हो भने गैर कानूनी हो ।’ अनलाइन मिडिया एसोसिएसन नेपालका अध्यक्ष लिम्बूलेले फोन सम्पर्कमा नगरमा दर्ता गरेको जानकारी दिए । यूट्युबरलाई निशुल्क कोठा दिएको विषयमा एक पत्रकारले भने, ‘पत्रकारको आचारसंहिताले निशुल्क केही पनि लिन मिल्दैन । यूट्युबरलाई त आचारसंहिताको कुरा के गर्नु र ? तर वडाध्यक्षले यू्ट्युबरलाई प्रभावित पार्न खोजेको देखिन्छ ।’ कोरोना भाइरसका बिरामीलाइ राखेको वडा कार्यालयको मथिल्लो तल उक्त सङ्गठनलाई दिइएको हो । उद्घाटनमा नै एक दिने तालिम पनि दिइएको छ । तालिमका लागि धरान १५ वडाध्यक्ष नरेश इवारामले रकम विनियोजन गरिदिएका हुन् । वडा कार्यालयको बजेटमा कार्यालयको उद्घाटन र तालिम पनि दिइएको हो । कार्यक्रममा वडाध्यक्ष इवाराम पनि उपस्थित भएका थिए ।